शरणार्थीको कथामा आधारित चलचित्र ‘ल्हो–छाम्पा’ निर्माण हुने

काठमाडौं ।  सन् १९९० को दशकमा भुटानबाट विस्थापित शरणार्थीको कथामा आधारित रहेर चलचित्र ‘ल्हो–छाम्पा’ निर्माण हुने भएको छ । ‘डाइङ क्यान्डल’ र ‘रोमियो एन्ड मुना’ जस्ता चलचित्र निर्देशन गरी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा आफूलाई अब्बल सावित गरिसक्नुभएका निर्देशक नरेशकुमार केसीले उक्त चलचित्र निर्देशन गर्नुहुनेछ ।

चलचित्रको पटकथा समीप्याराज तिमिल्सेनाले लेख्नुभएको छ । निर्देशक केसीले भुटानको दक्षिण भेगमा बस्ने नेपालीलाई चिनाउने शब्द ‘ल्हो–छाम्पा’ मा केन्द्रित भएर चलचित्रको विषयवस्तु तयार गरिएको जानकारी दिए । उनले भने, “भुटानबाट नेपालीभाषी लखेटिँदाको अवस्था, शरणार्थी शिविरका पीडा र तेस्रो देश पुनर्वासमा जानुअघि शिविरमा देखिएका द्वन्द्वलाई चलचित्रमा प्रस्तुत गर्नेछौँ ।

यसमा स्मृति र मान्छेको भूगोलसँग जोडिएको पहिचानको कथासँगै आप्रवासनका आयामलाई पनि समेट्का छौँ ।”चलचित्रलाई नक्षत्र लाइभ म्युजिकमार्फत तेस्रो देश पुनर्वासका क्रममा हाल अमेरिकामा रहेका अर्जुन सुवेदीले निर्माण गर्दै हुनुहुन्छ । निर्माता सुवेदीले आफ्नो भोगाइलाई दस्तावेजीकरण गर्ने उद्देश्य साथ चलचित्र निर्माणमा अग्रसर भएको जानकारी दिए ।

उनले भने , “भुटानदेखि नेपालका शरणार्थी शिविरसम्ममा हाम्रो पुस्ताले जे भोग्यो, त्यो कुरा पछिको पुस्ताका लागि पनि दृश्यको माध्यममा संरक्षित रहोस् भन्ने उद्देश्यले यो चलचित्र निर्माण गर्दैछौँ । यो मनोरञ्जनमा मात्र सीमित हुनेछैन ।”चलचित्रको छायाङ्कन आगामी वैशाखदेखि गरिने छ । चलचित्रका गीतमा अर्जुन पोखरेलले सङ्गीत दिनुहुनेछ । 

प्रतिक्रिया