१५ महिनाको निरन्तर लडाइँपछि हमास र इजरायल युद्ध बिराम नजिक
एजेन्सी । हमास र इजरायल १५ महिना सम्मको निरन्तर युद्धपछि युद्ध बिराम गर्ने विषयमा सहमति नजिक पुगेका छन् ।
कतारको मध्यस्ततामा दोहामा भइरहेको वार्तामा प्यालेष्टाइनको गाजामा युद्ध बिराम गर्ने विषयमा भएको छलफलमा हमास र इजरायल सहमति नजिक पुगेका हुन् ।
हमासले कतारमा जारी वार्ता अन्तिम चरणमा रहेको बताएको छ भने एक इजरायली अधिकारीले इजरायल युद्धविरामको लागि तयार रहेको बताएका छन्।हमासले सम्झौताको पहिलो चरणमा ३३ बन्धकहरूलाई रिहा गर्ने अपेक्षा गरिएको छ । उता दुई इजरायली अधिकारीहरूले इजरायली जेलबाट एकै समयमा सयौं प्यालेस्टाइनी बन्दी रिहा गर्ने तयारी गरिएको जनाएका छन् ।
योसँगै गाजामा १५ महिनादेखि जारी लडाइँ रोकिने आशा पलाएको छ। संयुक्त राज्य अमेरिकामा डोनल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपति पदमा बहाल हुनुभन्दा केही दिनअघि मध्यपूर्वमा भइरहेको युद्ध केही समयका लागि रोकिने सम्भावना प्रबल भएको हो।
अहिले युद्धविराम अस्थायी भए पनि त्यसले निरन्तरता पाउने र दीर्घकालीन शान्ति स्थापन गर्न सघाउने आशा गरिएको छ।
७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा प्यालेष्टिनी लडाकू समूह हमासले एक्कासी आक्रमण गरेपछि युद्ध सुरु भएको थियो, जसमा १ हजार २ सय मानिसहरू इजरायली मारिएका थिए र २५१ जनालाई गाजामा बन्धक बनाएको थियो।
इजरायलले जवाफमा गाजामा सैन्य आक्रमण सुरु गरेको थियो । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले युद्धको क्रममा त्यहाँ ४६ हजार ५ सय मानिसहरू मारिएको बताएको छ।
प्रतिक्रिया