कालीगण्डकी लोकमार्ग : फलेवास–अर्मादी सडकलाई बजेट सुनिश्चित

पर्वत ।  निर्माणाधीन उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा पर्ने फलेवास–अर्मादी सडकका लागि बजेटको स्रोत सुनिश्चित भएको छ । 
 
सङ्घीय सरकारको अर्थ मन्त्रालयले उक्त खण्डका लागि १ अर्ब ५० करोड बराबरको स्रोत सहमति गरे सँगै काम अघि बढ्ने भएको छ । 

लोकमार्गको पर्वत खण्ड अन्तर्गत मिर्मि बाट फलेवास सम्मको ३३ किलोमिटर सडक कालोपत्र भइसकेको भए पनि फलेबास–अर्मादी खण्डको १४ किलोमिटर सडक ठेकेदारको ढिलासुस्ती र बजेट विनियोजन नभएका कारण अलपत्र बनेको थियो । 

उक्त खण्डको मार्ग विस्तार र स्तरोन्नतिका लागि २०७३ साल असार २२ मा सम्झौता भई २०७५ साल जेठ २१ गते सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएकामा गत वर्ष मात्र मार्ग खुलाउने कार्य पूरा भएको थियो । कालोपत्रका लागि बजेट सुनिश्चित नहुँदा काम हुनसकेको थिएन । सांसद पदम गिरीले फलेवास–अर्मादी सडक खण्डको काम शुरु हुने बताए । 

यसअघि उक्त खण्डका लागि ९ करोड १७ लाख ४९ हजार २ सय ४५ विनियोजन भएको थियो । उक्त बजेटले फलेवास नगरपालिका–६ ढिक बाट कुश्मा नगरपालिका–४ अर्मादी सम्मको १४ किलोमिटर ट्र्याक खोलेको थियो । त्यस बाहेक अन्य काम भने हुन सकेको थिएन । मोदीवेणी बाट अर्मादी सम्मको तीन किलोमिटर ट्र्याक गत वर्ष मात्र खुलाइएको भए पनि सवारीसाधन सहज रूपमा चल्न सक्ने अवस्था छैन । 

कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका इन्जिनियर पिपुल गौतमका अनुसार मन्त्रालय बाट बजेट सुनिश्चित भए सँगै अब उक्त खण्डको काम ठेक्का प्रक्रियामा जाने बताए । कालीगण्डकी करिडोरको पर्वत खण्डमा ७० किलोमिटर भन्दा बढी भाग पर्छ । यसअन्तर्गत सेतीवेणी बाट फलेवास सम्मको भाग कालोपत्र भइसकेको छ भने मालढुङ्गा बाट बेनी सम्मको १३ किलोमिटर खण्डको काम पनि बेनी–जोमसोम–कोरला सडक आयोजनाले गरिरहेको छ ।

अब बाँकी रहेको फलेवास–अर्मादी खण्ड १४ किलोमिटर सडक पूरा भएमा पर्वत खण्ड पूरै सम्पन्न हुने इन्जिनियर गौतमले बताए । यो सडकले पर्वतको उत्तर–दक्षिण सम्म छिचोल्ने भएका कारण यसलाई राष्ट्रिय गौरवको योजनाका साथै पर्वतको लाइफ लाइनको रूपमा हेरिँदै आइएको छ । 
रासस 

प्रतिक्रिया