‘जब कृषिमन्त्रीलाई ९ किलोको काउली दिइयो’
बागलुङ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिसेरामा आज माघे सङ्क्रान्ति मेला तथा जैमिनी कप चलिरहेको थियो । मेलामा स्थानीय कला, संस्कृति र विभिन्न प्रकारका झाँकी प्रदर्शनले दर्शकलाई लोभ्यायो ।
साँझ पर्दै थियो । आयोजकले प्रमुख अतिथिका रूपमा आएका कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीलाई बिदाई गर्नुपर्ने भयो । धेरै ठाउँमा आयोजकले अतिथिलाई मायाको चिनो भनेर विभिन्न प्रकारका समान दिने गरेका छन् तर यहाँ भने फरक शैलीमा मन्त्री अधिकरीलाई बिदाइ गरियो ।
जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा मन्त्री अधिकारीलाई उपहार दिन मञ्चमा उक्लिए । उनको हातमा ९ किलोको काउली थियो । शर्माले मन्त्री अधिकारीलाई मायाको चिनो स्वरूप त्यही काउली थमाए । उक्त दृश्यले मेला हेर्न आएका हजारौँ दर्शकको ध्यान मञ्चतिर खिच्यो । धेरै चकित भए ।
नगर उपप्रमुख शर्माले कृषिमन्त्रीलाई मायाको चिनोका रूपमा काउली हस्तान्तरण गरेको उद्घोष गर्दा चारैतिर हाँसो चलेको थियो । स्थानीय किसानले उत्पादन गरेको काउली मन्त्री अधिकारीले मुस्कुराउँदै ग्रहण गरे ।
यस नगरपालिकाले विगत केही वर्षदेखि यस्ता कार्यक्रममा अतिथिलाई स्थानीय उत्पादनलाई प्रयोग गर्दै आएको छ । यस वर्ष पनि सोही नीतिअनुसार कृषिमन्त्री अधिकारीलाई नौ किलोको काउली उपहार दिइएको उपप्रमुख शर्माले बताए ।
उनले उक्त काउली जैमिनी नगरपालिका–२ का किसान गङ्गाधर सापकोटाले उत्पादन गरेको बताए । स्थानीय उत्पादनलाई मायाको चिनो तथा सार्वजनिक कार्यक्रममा प्रदर्शन गर्दा बजारीकरणमा टेवा पुग्ने अपेक्षासहित नगरपालिकाले यस्तो कार्य गर्दै आएको उपप्रमुख शर्मा बताउँछन् ।
नगरपालिकाले स्थानीय उत्पादनको बजारीकरण गर्नका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको त्यस अवसरमा जानकारी दिइयो । यसै वर्षदेखि सञ्चालन गर्ने गरी कृषि एम्बुलेन्स खरिद प्रक्रिया अगाडि बढिसकेको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया