प्रधानमन्त्री कप महिला क्रिकेट : उद्घाटन खेलमा सुदूरपश्चिम विजयी
बैतडी । प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि धनगढीमा सुरू भएको छ ।
उद्घाटन खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई सात विकेटले हराएको छ ।
फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको गण्डकी प्रदेशले निर्धारित २० ओभरको खेलमा सात विकेटको क्षतिमा ५५ रन बनायो । जितका लागि पाएको ५६ रनको लक्ष्य सुदूरपश्चिमले ९ दशमलव ५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्याे । सुदूरपश्चिमका लागि रेवती धामीले अविजित २१ रन बनाइन् । बलिङतर्फ गण्डकीका लागि आकृति तिवारी र अपेक्षा बुढाथोकीले एक एक विकेट लिइन् ।
यसअघि ५५ रन बनाउने क्रममा गण्डकीका लागि रेखा तामाङले १३ र कप्तान सिर्जना पौडेलले १० रन बनाइन् । बलिङतर्फ सुदूरपश्चिमकी रेवती धामीले ४ तथा ऋतु कनौजिया र जानकी थापाले एक एक विकेट लिइन् । रेवती ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् ।
राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार क्यानको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगिता यही माघ १२ गतेसम्म चल्नेछ । प्रतियोगितामा सात प्रदेश तथा दुई विभागीय टोली एपिएफ क्लब र आर्मी क्लब सहभागी रहेका सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मण भट्टले जानकारी दिए ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश तथा समूह ‘बी’ मा कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र त्रिभुवन आर्मी क्लब छन् । प्रतियोगिताको उपाधि जित्नेले रु पाँच लाख, दोस्रो हुनेले रु तीन लाख, प्लेयर अफ दी सिरिजलाई रु ५० हजार तथा बेस्ट ब्याटर र बेस्ट बलरलाई रु २५÷२५ हजार पुरस्कार दिइनेछ ।
प्रतिक्रिया