यो सरकार धेरै दिन टिक्दैन, टिकिराखोस् भन्ने चाहना पनि छैन : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार धेरै नटिक्ने घोषणा गरेका छन् ।

सिन्धुपाल्चोकको सुकुटेमा मंगलबार पत्रकार भेटघाटमा अध्यक्ष दाहालले वर्तमान सरकार अप्राकृतिक गठबन्धनबाट बनेको, सत्ता साझेदार कांग्रेसभित्रै असन्तुष्टि रहेको र अलोकप्रिय काम गरेकाले ढल्ने निश्चित भएको जिकिर गरे ।

‘अप्राकृतिक भएको हुनाले अन्ततः यो ढल्नु नै छ । ढली नै हाल्छ । हामीले धेरै बलै गर्नुपर्दैन । यसको आयु धेरै छ जस्तो चाहिँ मलाई लाग्या छैन,’ उनले भने ।

अध्यक्ष दाहालले आफूले सरकार ढल्ने मिति तोक्न नसक्ने बताउँदै सत्तारुढ दल नेपाली कांग्रेस भित्र पनि सरकारप्रति असन्तुष्टि भएको जनाए ।

‘मैले मिति त तोक्न सक्ने कुरा पनि होइन, मिल्ने कुरा पनि होइन,’ उनी भन्छन्, ‘सबै घटनाक्रम तपाईंहरुले जे देखिराख्नु भाछ नेपाली कांग्रेस भित्रै सरकारप्रति जबर्जस्त असन्तुष्टि, धेरै नेताहरुको, संस्थापनमै भएका नेताहरुको पनि असन्तुष्टि बाहिर आइ नै सकेको छ । त्यो स्थितिमा यो सरकार सहज ढंगले जाने अवस्था छैन ।’

दाहालले यो सरकार अलोकतान्त्रिक र असंवैधानिक भएकाले टिकिराखोस् भन्ने चाहना आफूहरुको नरहेको समेत बताए । ‘यो सरकार टिकिराखोस् भन्ने हाम्रो उद्देश्य हैन, अप्राकृतिक, अलोकतान्त्रिक र असंवैधानिक भनिसकेपछि त्यो रहिराखोस् भन्ने हाम्रो चाहना हुँदैन,’ उनले भने, ‘अहिले जसरी सरकार चलिहरेको छ, त्यसले पनि सरकारको आयु झन् छोट्याइरहेको छ । आफैंले छोट्यायो भन्ने लाग्या छ ।’

प्रतिक्रिया