मकर सङ्क्रान्तिको अवसरमा गुल्मीको रुरु क्षेत्रमा श्रद्धालुहरुको घुँइचो
गुल्मी । मकर सङ्क्रान्तिको अवसरमा गुल्मीको पबित्र धार्मिक स्थल रुरु क्षेत्रमा आज बिहानै देखि श्रद्धालुहरुको घुँइचो लागेको छ ।
कालीगण्डकी नदीमा स्नान गर्न र पुजाअर्चनाका लागि गुल्मी लगायत टाढाटाढा देखि भक्तजन पुगेका हुन । मकर सङ्क्राान्तिको अवसरमा रुरु क्षेत्रको कालीगण्डकी नदीमा स्नान गर्न र पुजाआजाका लागि बिहान देखि बेलुका अबेर सम्म नदी र मन्दिरहरुमा भक्तजनहरुको घुँईचो लाग्ने गर्दछ ।
रुरु क्षेत्रमा रहेको कालीगण्डकी नदीमा स्नान गरेपछि मानिसहरु नजिकै रहेको ऋषीकेश मन्दिरमा पुगेर पुजाआजा अर्चना गर्ने परम्परा छ । रुरु क्षेत्रको कालीगण्डकी नदीमा स्नान गरे पछि आफुले अञ्जानमा गरेका सम्पूर्ण पापहरु नष्ट भई मोक्ष प्राप्ती हुन्छ भन्ने जनविश्वास रहिआएको छ ।
त्यही आस्था र विस्वासका कारण यहाँ नेपालका विभिन्न ठाउँ लगायत भारतको अयोध्या र बनारस सम्म बाट तिर्थालुहरु यहाँ स्नान गर्नका लागि आउने गर्दछन् । मकर सङ्क्रान्ति पर्वले हिन्दू धर्मावलम्बीहरूको लागि एक विशेष महत्व राख्नुका साथै स्थानीय संस्कृतिको संरक्षण, संवद्र्धन र धार्मिक आस्थालाई जीवन्त बनाउ मद्दत पुर्याएको छ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थल रुरुक्षेत्र धार्मिक दृष्टिकोण बाट एक महत्वपूर्ण स्थलका साथै एउटा धार्मिक आस्थाको केन्द्र बनेको छ ।
जसका कारण यस क्षेत्रका मानिसहरुका लागि यो पर्व विशेषगरी पारिवारिक र सामाजिक भेटघाटको अवसर जुराउने स्थल पनि मानिन्छ । यस पबित्र धार्मिक स्थल पुगेर पुजाआजा गर्नाले देव ऋण, पितृ ऋण र ऋषि ऋणबाट मुक्त भईन्छ भन्ने जनविश्वास छ । मकर सङ्क्रान्ति पर्वको अवसरमा रुरु क्षेत्रमा जिल्ला स्तरी कृषि मेला प्रर्दशनीको आयोजना गरिएको छ ।
स्थानीय रुरु क्षेत्र गाउँपालिका, सत्यवती गाउँपालिका, छत्रकोट गाउँपालिका, कृषि ज्ञानकेन्द्र एवं प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना लगायतका संस्थाहरुको आयोजना गरिएको हो । रुरु क्षेत्रमा रहेको तीनमुखे झोलुङ्गे पुल रुरु क्षेत्रको महत्वपूर्ण संरचना हो । गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने यो पुलले त्यस क्षेत्रको व्यापार व्यवसायलाई थप सहज बनाएको छ । यो पुल हेर्नका लागि हजारौं मानिसहरु रुरु क्षेत्र पुग्ने गर्दछन् ।
प्रतिक्रिया