मध्यराति काठमाडौं आइपुगे रवि लामिछाने, आइतबार अदालतमा हाजिर हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एंव पूर्व गृहमन्त्री रवि लामिछाने शुक्रबार मध्यराति पोखराबाट काठमाडौं आइपुगेका छन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । आदेशपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने कास्की प्रहरीकोे हिरासतबाट ८४ दिनपछि रिहा भएका हुन् ।

उनी रिहा भएपनि काठमाडौं प्रहरीले पुनः पक्राउ गर्ने बताइएको थियो । तर, सभापति लामिछानेले जिल्ला अदालत काठमाडौंमा आफैं उपस्थित हुने भनेपछि उनलाई पक्राउ गरिएको थिएन् । रिहा भएको दिन पोखरामै बसोवास गरेका लामिछाने शुक्रबार स्थलमार्ग हुँदै शुक्रबार मध्यराति काठमाडौं आइपुगेका हुन् । आइतबार बिहानै लामिछाने काठमाडौं जिल्ला अदालतमा हाजिर भएर मुद्दाको प्रक्रियामा सहभागी हुने प्रहरीले जनाएको छ ।

काठमाडौंको कालीमाटिस्थित स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै सोसम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलसमक्ष पेश गरिसकेको छ । भोलि आइतबार सभापति लामिछाने सोही मुद्दालाई सघाउन आफैं अदालतमा उपस्थित हुने छन् ।

स्वर्णलक्ष्मी सहकारीबाट ६ सय ९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४ सय ९३ रुपैयाँ हिनामिना गरिएको आरोप छ । रविसहितका प्रतिवादीविरुद्ध कास्की, काठमाडौं, रुपन्देहीसहित चितवन र पर्सा प्रहरीले सहकारी ठगी मुद्दा अगाडि बढाएको छ । सबै जिल्लाका अदालतको मुद्दा किनारा नलागी लामिछानेलाई रिहा गर्न नसकिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया