बागमती प्रदेशले शुरु गर्‍यो चलचित्र साक्षरता कार्यशाला

ललितपुर । बागमती प्रदेश सरकारद्वारा विद्यार्थीलाई चलचित्र सम्बन्धी साक्षरता कार्यशाला शुरु गरेको छ ।

बागमती प्रदेश सरकार मातहतको सञ्चार रजिस्ट्रार कार्यालयले आजदेखि सामुदायिक विद्यालयका विद्यार्थीलाई चलचित्र साक्षरता कार्यशाला सञ्चालन शुरु गरेको प्रदेश सञ्चार रजिस्ट्रार रेवतीरमण सापकोटाले जानकारी दिए ।

“सामुदायिक विद्यालयमा कक्षा ९, १० र ११ मा अध्ययनरत विद्यार्थी र ती विद्यालयमा अध्यापन गराउने शिक्षकलाई चलचित्रको आधारभूत ज्ञान र सीप सिकाउन थालिएको छ, सुरुमा पाँच वटा सामुदायिक विद्यालयका २० विद्यार्थी र पाँच शिक्षक सहभागी गराएका छौँ, यो कार्याशाला पाँच दिनसम्म चल्नेछ”, उनले भने ।

सञ्चार रजिष्ट्रार सापकोटाका अनुसार शिक्षक र विद्यार्थीले चलचित्र निर्माणको पूर्वतयारी, निर्माणको चरण र निर्माणपछिका चरणबारे आधारभूत ज्ञान लिने छन् । यो कार्यशालामा फरक फरक विधाका नौ जना प्रशिक्षकले प्रशिक्षण दिने जनाइएको छ । 

कार्यशालामा काठमाडौंका रत्नराज्य माध्यमिक विद्यालय, भीमसेनगोला माध्यमिक विद्यालय, सिद्धेश्वर माध्यमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालयका साथै भक्तपुरको बागिश्वरी माध्यमिक विद्यालयका २० विद्यार्थीहरु र पाँच शिक्षकहरु सहभागी भएको रजिस्ट्रार सापकोटाले जानकारी गराए ।

प्रतिक्रिया