उपनिर्वाचन : आज राति देखि मौन अवधि शुरु
काठमाडौं । स्थानीय तह उप-निर्वाचन अन्तर्गत आज बिहीबार राति १२ बजे देखि मौन अवधि शुुरू हुँदैछ ।
मतदान भन्दा ४८ घन्टा अगाडि मौन अवधि शुुरू हुने गर्दछ । यो अवधिमा उम्मेदवारले मत माग्ने वा अरू कुनै पनि किसिममा प्रचारका गतिविधि गर्न पाउँदैनन् । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार यो अवधिमा उम्मेदवारका अतिरिक्त राजनीतिक दलहरूलाई सभा, सम्मेलन, गोष्ठी, भेला, अन्तरक्रिया लगायत गतिविधि गर्न रोक लगाइएको छ ।
मंसिर १६ गते ३७ जिल्लाका ४४ स्थानीय तहका विभिन्न रिक्त पदमा उप-निर्वाचन हुँदैछ । दुई जिल्ला समन्वय समिति प्रमुख, एक नगरपालिकाको प्रमुख, एक उपप्रमुख, दुई गाउँपालिका अध्यक्ष, ४ उपाध्यक्ष, ३४ वडाध्यक्ष पदमा उप-निर्वाचन हुन लागेको हो ।
४४ रिक्त स्थानमा निर्वाचन भए पनि तीन पद भने निर्विरोध भइसकेको छ । ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा पनि कांग्रेसकी टीकाकुमारी चौधरी निर्विरोध भएकी छन् । त्यस्तै, रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर दुईको वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार जगत घर्तीको एकल उम्मेदवारी छ ।
उप-निर्वाचनमा १ सय ६२ मतदान स्थल, २ सय ९३ केन्द्र तोकिएका छन् । यो उप निर्वाचनमा २ लाख २६ हजार ७ सय ९९ मतदाता रहेका छन् ।
प्रतिक्रिया