प्रधानमन्त्रीसँग परियारको गोप्य भेट : रविलाई अदालत लैजाने भूमिका खेलिदिन आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधि सभा सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रमुख सचेतक सन्तोष परियारबीच मंगबार सिंहदरबारमा भेटवार्ता भएको थियो ।

प्रधानमन्त्रीसँगको भेटमा प्रमुख सचेतक परियारले सभापति रवि लामिछानेको मुद्दा तत्काल अदालत पुर्‍याउन माग गरेको विषय बाहिरिएको छ । प्रहरीले सभापति लामिछानेको हिरासत बसाई लम्ब्याएको र अनुसन्धानको बहानामा उनलाई एकपछि अर्को जिल्लामा पठाइएको भन्दै प्रमुख सचेतक परियारको दुखेसो थियो ।

‘सभापति ज्युलाई हिरासतमा राख्नुभएको छ । अदालतमा बुझाउने हो कि लामो समय हिरासतमा नै मात्रै राख्ने ?,’ भन्दै प्रधानमन्त्री ओलीलाई सचेतक परियारले प्रश्न गरे ।

जवाफमा प्रधानमन्त्री ओलीले प्रहरीले अनुसन्धान गरिरहेको र प्रहरीले आफु अनुकुल अदालती पक्रियामा लैजाने भनेका थिए ।

सभापति लामिछानेविरुद्ध प्रमाण भन्दै मिडिया ट्रायल गर्ने कार्य प्रहरीबाट भइरहेकाले यस्ता कार्यलाई रोकथाम गर्नुपर्ने सांसद परियारको माग थियो । ‘हाम्रा सभापतिलाई खुइल्याउन सकिने विषय मिडियामा ट्रायलका रूपमा आइराखेको छ । अर्कोतर्फ हिरासतमा कहिलेसम्म राख्ने भन्ने पनि टुंगो भएन’, उनले भने ।

प्रहरी गरिराखेको अनुसन्धानलाई प्रभावित पार्ने काम आफूबाट नहुने र प्रहरीले निश्चित समयमा मुद्दा अदालतमा लैजाने भएकाले यो प्रक्रियाप्रति फरक मत राख्नुपर्ने आवश्यकता नरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

त्यसपछि प्रमुख सचेतक परियारले जतिसक्दो छिटो सभापति लामिछाने विरुद्धको मुद्दा अदालती पक्रियामा लैजाने वातावरणका लागि भूमिका खेलिदिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेको विषेश स्रोतले बताएको छ ।

‘हामी अदालती पक्रिया फेस गर्न छौँ । प्रमाण यी छन् भनेर प्रचार गर्नुभन्दा त्यो प्रमाण हो कि होइन भनेर अदालतले पुष्टि गर्ला । सभापति लामिछानेलार्ई हिरासत लम्ब्याइरहने भन्दापनि अदालत पेश गरे भइहाल्यो’, सांसद परियारले प्रधानमन्त्रीसँग भनेका थिए ।

यसअघि कात्तिक १२ गते पनि प्रधानमन्त्री ओलीलाई रास्वपा उपसभापति डीपी अर्याल र प्रमुख सचेतक परियारले भेटेका थिए । तर, यसपटक सचेतक परियारले प्रधानमन्त्रीसँग एक्लै भेट गर्नुले अर्थपूर्ण रुपमा हेरिएको छ ।

सहकारीको रकम अपचलन गरेको आरोपमा कात्तिक २ गते काठमाडौंबाट सभापति लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो । उनी हाल एक महिनादेखि कास्की प्रहरीको हिरासतमा छन् ।

लामिछाने विरुद्ध काठमाडौं, चितवन र रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी भएको छ । हिरासतकै क्रममा रुपन्देही लगेर उनको बयान लिइएको थियो भने काठमाडौं पनि ल्याउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया