सुकुटी बेचेर मासिक २ लाख आर्जन

मोरङ । बेलबारी–११ लक्ष्मीमार्ग बजार क्षेत्रमा लस्करै सुकुटी पसल भेटिन्छन् । राँगाको मासु बाट यहाँ बनाइने सुकुटीको माग स्वदेशमा मात्र नभई विदेशमा पनि बढे पछि सुकुटीको व्यापार फस्टाएको  हो । 

विदेशको लोभलाग्दो कमाइ छोडेर स्वदेशमै स्वरोजगार बन्ने उद्देश्यले लक्ष्मीमार्गका केही युवाले शुरु गरेको सुकुटी पसलले हाल विदेशको कमाइलाई बिर्साइदिएको छ । ६ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा कतार बसेर आएका प्रेम श्रेष्ठले करिब १० वर्ष देखि लक्ष्मीमार्गमा सुकुटी व्यवसाय गर्दै आएका छन् ।  । सुकुटीको माग दैनिक बढे सँगै पेसा प्रति सन्तुष्टि रहेको उनी बताउछन् । 

रोजगारीको सिलसिलामा ८ वर्ष मलेसिया बसेर आएका दिलीप श्रेष्ठले ५ वर्ष अघि यो व्यवसाय शुरु गर्दा सातामा करिब २० देखि ३० किलो मात्र सुकुटी बिक्री हुने गरेकामा ६ सय देखि ७ सय किलोे सुकुटी बनाउने गरेका छन् । उनका अनुसार “स्वदेशी बजारमा भन्दा बेलायत र अमेरिकामा बस्ने नेपालीले यहाँको सुकुटु माग  गर्नुहुन्छ, जनशक्ति अभावमा माग पूरा गर्न सकिएको छैन”, विदेशमा रहेका नेपालीहरुमा कोसेलीको रुपमा सुकुटीको माग उच्च रहे तापनि बनाउन धेरै झन्झट र मिहेनत पर्ने भएकाले मागअनुसार पुर्‍याउन नसकिरहेको श्रेष्ठ बताउछन् । प्रतिकिलो २ हजारमा बिक्री भइरहेको सुकुटी व्यापारले हाल विदेशको कमाइलाई बिर्साइदिएको छ । मासिक २ लाख सम्म आम्दानी भइरहेको उनी बताउछन् । 

वैदेशिक रोजगारीको सिलसिलामा सात वर्ष कतारमा काम गरेर आएका शोभितमान श्रेष्ठ ९ वर्ष देखि लक्ष्मीमार्गमा सुकुटी व्यापार गर्दै आएका छन् । साताको १० किलो मासु ल्याएर सुकुटी बनाउने गरेकामा हाल दैनिक २० देखि २५ किलो सुकुटी बनाउने गरेको उनी बताउछन् ।  लक्ष्मीमार्गमा दैनिक राँगाको सुकुटीको माग बढ्दो क्रममा रहेको र आफूलाई भ्याइनभ्याइ भएको उनी बताउछन् । 

विदेशको भन्दा परिवार सँगै घरमा बसेर गरेको व्यवसायले सन्तुष्टि मिलेको उनले बताए ।  पूर्व पश्चिम राजमार्ग भएर यात्रा गर्ने धेरै टाढा टाढा बाट यहाँको सुकुटीको स्वाद चाख्न ग्राहकहरु आउने गरेको होटल सञ्चालक टफिनबाबु श्रेष्ठ बताउछन् ।  लक्ष्मीमार्गको नयाँ परिचय यहाँकोे सुकुटी बनेको उनले बताए । 
रासस  

प्रतिक्रिया