वर्षाका कारण देशका अधिकांश स्थानको जनजीवन प्रभावित, १६ स्थानमा चेतावनीको तह पार

काठमाडौं । निरन्तरको वर्षाका कारण काठमाडौं सहित देशका अधिकांश स्थानको जनजीवन प्रभावित भएको छ । 

हाल देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विभान विभागले जनाएको छ । पछिल्लो ४ घण्टायता कोशी प्रदेशका थोरै स्थानमा भारी वर्षा भइरहेको विभागले जनाएको छ । अत्यधिक वर्षाका कारण हालसम्म देशका १६ स्थानमा चेतावनीको तह पार गरेको छ । 

विभागका अनुसार कोशी प्रदेशका मोरङ, झापा, उदयपुर र इलाम जिल्लामा राखिएका वर्षा मापन केन्द्रमा अत्यधिक वर्षाको रेकर्ड रहेको छ । मधेश प्रदेशको सप्तरी र लुम्बिनीको पाल्पामा पनि अत्यधिक वर्षा भएको छ । 

आगामी २४ घण्टासम्म देशभर नै मनसुन सक्रिय रहने महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

ती क्षेत्रमा वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो र डुबानको समस्या आउन सक्ने भन्दै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । कोशी, नारायणी, कन्काई, कमला, बागमती, राप्ती, बबई नदीमा  बाढीको जोखिम औल्याइएको छ । 

निरन्तरको वर्षाले सडकमार्ग मात्रै नभई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट हुने उडान अवतरण पनि प्रभावित भएका छन् । शुक्रबार बिहानलाई तय भएका धेरैजसो उडान प्रतिकूल मौसमका कारण प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । 

बिहानलाई तय भएका चार वटा माउन्टेन फ्लाइट रद्द भएका छन् । यसैगरी बिहान उड्ने तय भएका ६ वटा उडान डिले भएका छन् ।

प्रतिक्रिया