भारतमा सौभाग्य ल्याउने उद्देश्यले ७ वर्षीय बालको बलि

सात वर्षको अन्तरालमा १०३ वटा मानव बलिका घटना दर्ता

एजेन्सी । एउटा सार्वजनिक विद्यालयमा सौभाग्य ल्याउने उद्देश्यले गरिएको कथित अनुष्ठान बलिमा एक सात वर्षीय बालकको हत्या गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको छ ।

प्रसिद्ध ताजमहल नजिकैको हाथरस शहरमा रहेको छात्रावासमा आफ्नै ओछ्यानमा पीडित बालकलाई आइतबार राति मृत फेला पारिएको थियो । अधिकारीहरूलाई सूचित गर्नुको सट्टा विद्यालयका निर्देशक दिनेश बघेलले शवलाई आफ्नो कारको डिक्कीमा लुकाएर राखेको भारतीय प्रहरीले बताएको छ । 

प्रहरी अधिकारी हिमांशु माथुरले बघेलका पिताले आयोजना गरेको कालो जादु (तान्त्रिक विधि) समारोह अघि नै बालकको हत्या गरिएको बताए । “बालकलाई अनुष्ठानको हिस्साका रूपमा वेदीमा लैजाने योजना थियो तर, समारोह पूरा हुनु भन्दा अघिनै उनलाई मारियो”, उनले भने । 

माथुरका अनुसार बघेल र उनका पिता सहित विद्यालयका अन्य तीन शिक्षकलाई पक्राउ गरिएको छ ।बालकको मृत्यु कसरी भयो भन्ने बारे माथुरले कुनै जानकारी दिएका छैनन् । भारतीय सञ्चारमा ध्यमहरूले शवको परीक्षण भइरहेको बताएका छन् । 

भारतको राष्ट्रिय अपराध रेकर्ड ब्युरोका अनुसार सन् २०१४ देखि सन् २०२१ को बीचमा मुलुकभर एक सय तीन वटा मानव बलिका घटना दर्ता भएका छन् । 

अनुष्ठानमा गरिने हत्याहरू सामान्यतया देवताहरूलाई प्रसन्न पार्न गरिन्छ । बोक्सी र गुप्त विद्यामा विश्वास व्यापक भएको आदिवासी तथा दुर्गम क्षेत्रहरूमा मानव बलि बढी प्रचलित छ ।

गत वर्ष प्रहरीले सन् २०१९ मा ६४ वर्षीया महिलाको हत्याको आरोपमा पाँच जनालाई पक्राउ गरेको थियो । ती महिलाको भारतको सुदूर उत्तरपूर्वी क्षेत्रमा एक मन्दिरमा गएपछि हत्या गरिएको थियो र टाउको छिनालिएको समाचारमा उल्लेख छ । 

प्रहरीका अनुसार आरोपित मुख्य व्यक्तिले आफ्नो भाइको मृत्युको वार्षिकोत्सव मनाउन धार्मिक अनुष्ठान गरिरहेको थियो ।
रासस 

प्रतिक्रिया