जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएकी छिन्: पूर्वराष्ट्रपति भण्डारी

ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) ले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएकी छिन् ।मदन भण्डारी फाउन्डेसनको आज ललितपुरमा आयोजित २५औँ स्थापना दिवस तथा रजत जयन्ती समारोहमा उनिले जबजको मुख्य नीति राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने रहेको र त्यसका लागि हरेक नागरिक आत्मनिर्भर हुँदै जानुपर्छ भनिन ।

“जबज क्रान्तिकारी परिवर्तनको नवीन विचार हो । कम्युनिष्ट पार्टीमा लागेर प्राप्त गरेको पद, प्रतिष्ठान पनि जबजको प्रतिफल नै हो । यसैका आधारमा सामाजिक जागरण र जनतालाई आत्मनिर्भर बजाउन क्रियाशील हुनुपर्छ । दलाल पुँजीवादको भरमा समाजवादमा पुग्न सकिँदैन, त्यसकारण आत्मनिर्भर उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नुपर्छ”, विद्यादेवी भण्डारीले बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रिय पुँजीको प्रवद्र्धन गरेर समाजवादमा पुग्न सकिने धारणा राख्दै संरक्षणमा उत्पादन वृद्धि र व्यापारको सन्तुलन कायम गर्न ध्यान दिनुपर्नेमा जोड दिएकी छिन् । “कृषि प्रधान देशमा हामी परनिर्भर छौँ । बाहिरबाट सामान ल्याउने, भन्सार उठाउने, अनि तलब खुवाउने कार्यले देशको विकास हुन सक्दैन”, उनिले भनिन,“हामीसँग आधारभूत स्रोत छ, यसलाई आधुनिक ढङ्गले प्रयोग गरेर युवाहरूलाई प्रोत्साहित गर्नुपर्छ ।

’पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारी फाउन्डेसनले राष्ट्रिय आवश्यकताका महत्वपूर्ण क्षेत्रमा वैचारिक कार्यहरू गर्दै आएको बताइन् । “सीमित स्रोतसाधन र प्रतिकूलताका बीच पनि राष्ट्रिय जीवनका लागि काम गर्नु महत्वपूर्ण हो, विसं २०५० मा स्थापना भए पनि संस्थागत हिसाबले २०५६ सालदेखि फाउन्डेसन क्रियाशील छ ।

रजत जयन्ती मनाउँदासम्म यसले राष्ट्रिय आवश्यकताका महत्वपूर्ण क्षेत्रमा काम गर्दै आएको छ”, उनिले भनिन,“म पनि जबजकै स्कुलिङबाट आएको हुँ, फाउन्डेसनको सुरुआतले वामपन्थी आन्दोलनमा प्रगतिशील काम भएको छ । फाउन्डेसन समाजिक संस्था भए पनि वैचारिक सामाजिक संस्थाका रूपमा परिचित छ, फाउन्डेसनलाई कम्युनिष्ट फलाउने शक्तिका रूपमा लिइएको छ, यसलाई साझा बनाउन सक्दा राम्रो हुन्छ ।

”अहिले देशको मौलिक कला, संस्कृतिमाथि हस्तक्षेप भएको छ भन्दै पूर्वराष्ट्रपति भण्डारीले कला, संस्कृतिको संरक्षणमा लाग्नुपर्ने बताइन् । “कलासंस्कृतिमाथि समस्या देखापरेको छ, भाषा संस्कृतिमाथि हस्तक्षेप भइरहेको छ, राष्ट्र र जनता पहिलो हो, तसर्थ यसलाई ध्यान दिएर काम गर्नुपर्छ”, उनिले भनिन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले संविधान कार्यान्वयनको सन्दर्भमा जबज सक्रियता, जनसेवा, पहलकदमी प्रतिस्पर्धा र श्रेष्ठता हो भने ।“जबज नेपालको मौलिकतामा विकसित भएको विचार हो, द्वन्द्वलाई विधिसम्मत ढङ्गले प्रस्तुत हुन दिनुपर्छ भन्ने यसको मान्यता हो । माक्र्सवादको प्रयोगको सिलसिलामा नेपाली मौलिकतामा प्रतिपादन भएको यस सिद्धान्त प्रतिवादबारे हामीले आफ्नो विशिष्टतामा रहेर विश्लेषण गर्नुपर्छ”, पोखरेलले भने ।

उनले नेपालमा एउटा उदार पुँजीवादलाई प्रोत्साहन गर्ने र अर्को सर्वहारा श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने दुई धारका शक्ति रहेको उल्लेख गदैँ प्रतिस्पर्धामा रहेका दुईवटा धारबीच आपत्कालीन अवस्थामा सहकार्य र प्रतिस्पर्धा दुवै हुने गरेको धारणा राखे । कार्यवाहक अध्यक्ष पोखरेलले नेपालको परिवर्तन पृथक ढङ्गले अगाडि बढेको सहमतिको साझा दस्तावेजका रूपमा रहेको संविधानले त्यसलाई संस्थागत गरेको बताए ।

सबै दलहरूको सहमतिका र छलफलका आधारमा संविधान संशोधन अगाडि बढाउन जरूरी रहेको उनको भनाइ थियो । “दलहरूका बीचमा विषय र प्रक्रियाका बारेमा छलफल भएन भने संविधान संशोधन हुन सक्दैन । सहमतिका साथ सहकार्य गर्दै जानुपर्छ भन्ने एमालेको धारणा हो, संविधानका आधारभूत कुराबाट विमुख हुनुहुँदैन, संशोधनका विषयमा हिजो संविधान निर्माणमा मुख्य भूमिका खेल्ने राजनीति दलहरुबीच छलफल र सहमति हुनुपर्छ”, पोखरेलले भने ।

फाउन्डेसनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले मदन भण्डारीको योगदानलाई स्थापित गर्ने अभिप्रायले फाउन्डेसनको कार्यक्रम भइरहेको बताए । उनले लोकतन्त्रका नाममा हुने वैमनस्यतालाई रोक्दै देशको परराष्ट्र नीतिमा सबै दल एक हुनुपर्ने धारणा राखे ।

‘मिडियामा मदन भण्डारी’ विषयमा प्रकाशित पुस्तकको सम्पादन गरेका नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा महेन्द्र विष्टले मदन भण्डारीले त्यतिबेला दिएका सबैजसो अन्तर्वार्ताहरू दूरगामी महत्वका भएको बताए । उनले भण्डारीका अन्तर्वार्ताहरूको सँगालोका रूपमा प्रकाशित यस पुस्तकमा विसं २०४७ को प्रारम्भदेखि २०५० सम्मका ६३ अन्तर्वार्ता रहेका छन् ।

कार्यक्रममा जनगायक रामकृष्ण दुवाललाई रु एक लाख एक हजार राशिको मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रदान गरेका छन् । त्यस अवसरमा  डा भेषराज अधिकारी, सुशील प्याकुरेल,  रामकृष्ण दुवाललगायतले मन्तव्य राखेका थिए । जननेता मदन भण्डारीका नाममा विसं २०५६ असोज ५ गते फाउन्डेसन स्थापना भएको हो ।

रासस

प्रतिक्रिया