वर्तमान सरकार सुरुवातमै असफल भयो: अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा रहेका व्यक्तिहरूले गलत कदम चाल्दा वर्तमान सरकार सुरुवातमै असफल भएको टिप्पणी गरेका छन् । 

माओवादी केन्द्र चितवन–काठमाडौं सम्पर्क समन्वय समितिको आठौँ भेलालाई आज काठमाडौंमा सम्बोधन गर्दै उनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र उपसभामुखलाई हटाउन खोज्नेलगायत गलत कदमका कारण सरकार सुरुआतकै चरणमा असफल भएको टिप्पणी गरेका छन् । 

उपसभामुखले महिला र बालबालिकाको क्षेत्रमा प्राप्त गरेको अन्तर्राष्ट्रिय ख्यातिसमेतको बेवास्ता गरेर महिला र जनजाति समुदायलाई अपमान गर्नेगरी हटाउनका लागि हस्ताक्षर गरिएको उल्लेख गर्दै उनले भने , “त्यो जनतालाई स्वीकार्य थिएन र हामीले पनि अस्वीकार गरेपछि सत्तारुढ दलहरू पछि त हटे तर हस्ताक्षर गरिसकेको बेलामा हटाउन खोजेकै होइन भनेर प्रधानमन्त्रीले संसद्लाई ढाँटेको पनि देखियो ।”

भ्रष्टाचार आरोप लागेकै आधा दर्जन व्यक्ति मन्त्री भएकाले वर्तमान सरकार सुशासनका क्षेत्रमा निकै कमजोर रहेको उल्लेख गर्दै उनले भ्रष्टाचारका विरुद्ध जनताले निरन्तर खबरदारी गर्नुपर्ने बताए । आफूले सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डालाई प्रभावकारी रूपमा अघि बढाएको उल्लेख गर्दै उनले अब यसलाई समाजवाद निर्माणको आधार बनाएर लैजाने बताए । 

माओवादी नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध कदम चाल्दैगर्दा सरकारबाट हटाइएको तथ्य नेता कार्यकर्ताले भन्दा चाँडो जनताले बुझेकोमा आफूहरू खुशी रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले आगामी अभियानका कार्ययोजना निर्माण गर्न यसले ऊर्जा थपेको बताए  । पार्टी परामर्श बैठकका क्रममा प्रदेशहरूमा पुग्दा र पछिल्लो समय भदौ २९ र ३० गते मोरङ, सुनसरी र झापा पुग्दा प्राप्त गरेको जनसमर्थनले आफू थप उत्साहित भएको पनि उनले स्पष्ट गरे । 

प्रतिक्रिया