इन्द्रजात्रा आजबाट सकिँदै, भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिंगो ढालेसँगै जात्रा सम्पन्न हुने

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी मनाइने इन्द्रजात्रा शनिबारबाट सकिँदैछ । 

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको इन्द्रध्वजा लिंगो ढालेसँगै इन्द्रजात्रा सम्पन्न हुने गर्दछ ।  उपत्यकामा आठ दिनयता चल्दै आएको इन्द्रजात्रा आ नानिचा अर्थात महिलाले रथ तान्ने जात्रासँगै सकिदै छ । जात्राको अन्तिम दिन शनिबार रथ वसन्तपुर हनुमानढोकास्थित कुमारीघरदेखि नरदेवी–इन्द्रचोकतर्फ तानिन्छ ।

 जात्राको अन्तिम दिन राति राष्ट्रपति  कुमारीको हातबाट टीका ग्रहण गर्न हनुमानढोका जाने प्रचलन छ । जात्राको अन्तिम दिन विधिपूर्वक कुमारी र अन्य देवीदेवताको पूजाआजा गर्ने परम्परा छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको इन्द्रध्वजा लिंगो शनिबार नै राती ढालिदैछ ।

लिंगो ढालेसँगै उपत्यकाकै ठूलो अनि भव्य रुपमा मनाइने इन्द्रजात्रा सकिन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिनदेखि आश्विन कृष्ण चौथीका दिनसम्म रथयात्रा गरेर इन्द्रजात्रा मनाइने गरिन्छ । विभिन्न थरीका नाच र पर्वको मिश्रित इन्द्रजात्रा हनुमानढोकास्थित किलागलबाट शुरु भएको इन्द्रजात्राले नाचगानसहित वसन्तपुर, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, मरुटोल, नरदेवी, टंगाल, असन, इन्द्रचोक, हनुमानढोका लगायत ठाउँ परिक्रम गरेको थियो । 

आठदिने जात्रामा विशेष गरी कुमारी, भैरव र गणेशको पूजा गरिन्छ । जात्रा अवधिभर अनुहारमा विभिन्न देवीदेवताका ‘ख्वापाः’ अर्थात् मुखौटा लगाई उपत्यकाका नेवार समुदायका कलाकारले नाच प्रस्तुत गर्दछन । करिब तीन सय वर्षअघि मल्ल राजा जयप्रकाश मल्लको पालामा यो जात्रा शुरु गरिएको मानिन्छ ।
 

प्रतिक्रिया