प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल

काठमाडौ‌ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको ‘एजेण्डा’लाई  प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । 

अखिल नेपाल ट्रेड यूनियन महासङ्घले शनिबार आयोजना गरेको ‘राजनीतिक वैचारिक प्रशिक्षण’ मा अध्यक्ष दाहालले संविधान निर्माणका क्रममा फरक मतका रुपमा प्रस्तुत पार्टीको प्रस्तावलाई नै अघि सारिने बताए । 

वर्तमान संविधानमार्फत जनताले पाएका अधिकार  केही शक्तिलाई मननपरेको  टिप्पणी गर्दै अध्यक्ष उनले संविधान संशोधनका नाममा जनताका अधिकार खोस्न खाजेको आरोप लगाए ।   

इमान्दर भएर संविधान संशोधनको प्रयास भएमा आफूहरु त्यसका लागि तयार हुने पनि उनले स्पष्ट  गरे । अग्रगमनमा लागि संविधान संसोधनको सबैभन्दा बढी आवश्यकता माओवादी केन्द्रलाई नै भएको उनको कथन थियो । 

प्रत्यक्ष कार्यकारी निर्वाचित राष्ट्रपतिसहित पूर्ण समानुपातिक निर्वाचन प्रणाली पनि आवश्यक भएको उनले बताए ।   करोडौँ खर्च गरेर सांसद र मन्त्री बन्ने अभ्यासप्रति विमति जनाउँदै अध्यक्ष दाहालले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले मन्त्रिमण्डल बनाउने र सांसदहरु कानुन निर्माणमा मात्रै लाग्ने, मन्त्री बन्न नपाउने निर्वाचन प्रणालीले मात्र भ्रष्टाचार रोक्न सकिने  उनको तर्क थियो । 

आफूहरु अनियमिताविरुद्ध खबरदारी गर्दै सरकारबाट बाहिरिएको र सरकारमा रहँदा भ्रष्टाचारका खिलाफ एकपछि अर्को अभियान चलाएकाले नै माओवादी केन्द्रप्रति जनभरोसा बढेको बताए । 

उनले मजदूरको तर्फबाट पार्टी नेतृत्वमा १० प्रतिशत प्रतिनिधित्व, श्रमिकको न्यूनतम ज्याला वृद्धि, श्रम ऐन संशोधन, सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी बनाउने, महङ्गी भत्तालगायत मजदुर सङ्गठनका माग जाजय भएको र पार्टीबाट पूरा गर्न सकिने जति पार्टीबाट र सरकारबाट गर्नुपर्ने कामका लागि सङ्घर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे ।  पार्टीले अघि सारेको सुशासन, सामाजिक न्याय र समृद्धिको अन्तर्य समाजवादी क्रान्तिको तयारी नै भएको उल्लेख गर्दै अध्यक्ष दाहालले समाजवादी क्रान्तिबाट मात्र मजदुर, किसानलगायत श्रमिक वर्गको हितको रक्षा हुने बताए ।  

प्रतिक्रिया