अमेरिकामा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटघाट हुने

काठमाडौं । संयुक्त राष्ट्र सङ्घको कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री के.पी. शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अमेरिकामा भेटघाट हुने तय भएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको सचिवालयले अमेरिकाको समय अनुसार सेप्टेम्बर २२ का दिन साँझ साढे ५ बजे नेपाली समय अनुसार २३ तारिख बिहान पौने ४ बजे ओलीसँग भेटघाट हुने तय गरेको हो । निर्धारिता तालिकामा केही समय तलमाथि पनि हुने जनाइएको छ ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले इपीजी र सीमा समस्याको बारेमा दिएको अभिव्यक्तिका कारण भारतसँगको सम्बन्ध केही चिसिएको अनुमान गरिएको थियो । यो भेटघाट पछि प्रधानमन्त्री ओलीको भारतसँगको आगामी सम्बन्धबारे धेरै कुरा तय गर्ने अनुमान गरिएको छ ।  

संयुक्त राष्ट्र सङ्घको ७९औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली न्यूयोर्क पुगेका हुन् । प्रधानमन्त्री ओलीलाई जोनएफ केनडी अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार राति राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेल, न्युयोर्कस्थित नेपाली काबा महावाणिज्यदूत चक्र सुवेदी तथा स्थायी नियोगका अधिकारीहरुले स्वागत गरेका थिए । 

ओलीले असोज १० गते संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्ने तालिका छ । उनले सम्मलेनमा अतिकम विकसित देशहरुको अध्यक्षको हैसियतले सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया