आफ्नै गीतमा ‘कपीराइट’ लागेपछि गायक-सर्जक शिरीष खड्का तनावमा

स्रष्टामा अर्कैको दाबीले सृजनाको स्वामित्वनै गुम्ने खतरा बढेको जिकिर

काठमाडौं। आफ्नै गीतमा कपीराइटको क्लेम लागेपछि गायक शिरीष खड्का तनावमा परेका छन्।‘चिहानकी परी’, ‘बज्र’ जस्ता चर्चित गीतका गायक खड्कालाई आफ्नै सिर्जनामा कपिराइट क्लेम लागे पछि उनि तनाबमा परेका हुन्। शिरीषको आधिकारिक युट्युब च्यानलमा राखेको गीतमा डिजिटल संगीत रोयल्टी संकलन गर्ने अमेरिकी 'लेबल अडियाम'ले कपीराइट दाबी गरेको हो। 

केही दिनअघि क्रिएटर स्टुडियोमा गएर हेर्दा कन्टेन्टको स्वामित्व (मालिक)मा अर्कैको नाम राखिएको देखेपछि आफूले कपिराइट क्लेमबारे थाहा पाएको शिरीषको भनाइ छ। यस बिषयमा आफु अनभिज्ञ रहेको उनले बताए। गीत नै हट्नेगरी कपिराइट लागेको नभयता पनि स्रष्टामा अर्कैको दाबी परेपछि आफ्नो सृजनाको स्वामित्वनै गुम्ने खतरा बढेको गायक शिरिष बताउँछन् । 

'अडियाम डिजिटल' संगीत रोयल्टी सङ्कलन गर्ने अमेरिकी एजेन्सी हो। यसले डिजिटल रोयल्टी ट्र्याक गर्ने र सर्जकहरूलाई रोयल्टी वितरण गर्ने गर्छ। कपिराइट सम्बन्धी काम गर्दै आएका एक जानकारले सर्जक खड्काका गीतहरूको प्रतिलिपि अधिकार कसैले अडियामलाई दिएको हुनसक्ने आशंका गरे। ती जानकारका अनुसार कलाकार तथा रेकर्ड लेबलले अन्तर्राष्ट्रिय रोयल्टी उठाउन अडियाम जस्तो एजेन्सीलाई गीतको अधिकार दिन सक्छन्। त्यसो हुँदा सम्पूर्ण डिजिटल प्लेटफर्ममा जोकसैले उक्त गीत अपलोड गरेता पनि कन्टेन्ट स्वामित्वमा त्यो कम्पनीको नाम देखिन्छ। 

'चिहानकी परी' एल्बममा समावेश उनका यी गीत रियाज म्युजिकले २००८ मा रेकर्ड र उत्पादन गरी २००९ मा म्युजिक भिडिओ समेत बनाएको थियो।

त्यसबेला रियाज म्युजिकले एल्बममा संलग्न गीतलाई अधिकतम पाँच वर्षसम्म प्रयोग गर्न पाउनेगरी सम्झौता भएको खड्का बताउँछन्। तर रियाज म्युजिकले उनको ‘चिहानकी परी’, ‘बज्र’ गीतलाई गत वर्षमात्रै आफ्नो युट्युब च्यानलमा राखेको छ। “मेरो गीतको एल्बम प्रोड्युस गरेँ भन्दैमा सधैंभर प्रयोग गर्न पाउँदैन,” खड्काले भने, “अहिले रियाज म्युजिकको सञ्चालक पनि परिवर्तन भएका छन्। यसबारे आफुले कुरा गर्ने गायक खड्काले बताए । 

युट्युबपछि आफ्ना यी गीतलाई जियो साबन भन्ने म्युजिकल एपले समेत कपीराइट क्लेम गरेको खडकाले सामाजिक सञ्जाल मार्फत जनाएका छन्। उनले यी कपीराइटको दाबी विरुद्ध कानुनी बाटो अपनाउने समेत जनाएका छन्।

उनी लेख्छन्, ‘युट्युबपछि फेरि अर्को जियो सावन भन्ने एपमामा मेरो चिहानकी परी संग्रहको सम्पूर्ण गीतहरु तेलुगु भाषाको भनेर राखिएको रहेछ। कसको काम हो यो ? अब चाहिं अत्ति नै भयो। कानुनी बाटो अपनाउनुपर्‍यो ।’

आफूले युट्युबलाई यसबारे इमेल लेखेपनि कुनै वास्ता नगरेको उनले बताए। उनले यसबारे साइबर ब्युरो र मन्त्रालयमा जाने तयारी समेत गरिरहेको बताएका छन्। शिरीषका यी गीत कपी गरेर अन्य युट्युब च्यानलमा राखिएका गीतमा धेरै भ्युज पाइरहेको देखिन्छ।
एक पटक यी गीत हटाउन युट्युबलाई मेल गरे पनि केही नभएको उनी सुनाउँछन् । “गीतसँग सम्बन्धित एल्बम कभर, समाचार सबै पठाएर ती गीत मेरा हुन् भनेर मेल गरेको थिएँ,” उनले भने, “तर मेरो सब्सक्राइबर थोरै देखेर होला युट्युबले मेरो कुरा मानेन ।”

कपिराइट सम्बन्धी जानकारका अनुसार खड्काले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयबाट आफ्नो सिर्जनाको प्रतिलिपि अधिकार लिएर सम्बन्धित प्लेटफर्महरू (युट्युब, स्पोटिफाई)मा मेल गर्न सक्छन्। यसो गर्दा गैरकानुनी तरिकाले अपलोड भएका सबै गीत हट्ने अथवा त्यसमा सर्जक खड्काको कपिराइट क्लेम आउने उनले सुनाए ।

प्रतिक्रिया