बसन्तपुर दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा

काठमाडौं । बसन्तपुर दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ । इन्द्रजात्रा शुरू भएको भोलिपल्ट अर्थात् साेमबार सामूहिकरूपमा कुमारी पूजा गरिएको हो ।

तलेजु भवानी मन्दिर अगाडि महिनावारी शुरू नभएका बालिकाहरूलाई वैदिक परम्पराअनुसार सामूहिक कुमारी पूजा गरिन्छ । यसरी सामूहिक कुमारी पूजा गर्नाले सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक मान्यता रहेको छ । नेवार समुदायमा ईही बेल विवाह नगरेको २ वर्षदेखि ८ वर्ष उमेर समूहका बालिकाहरूलाई कुमारीका रूपमा पूजा गर्ने प्रचलन रहेको छ । 

इन्द्रजात्रा शुरु भएसँगै बसन्तपुरमा विभिन्न पूजा हुने गर्छन् । पूजाहरूमध्ये सामूहिक कुमारी पूजा पनि एक महत्त्वपूर्ण पुजा हो । महिनावारी सुरू नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार पूजा गरिन्छ । कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने धार्मिक विश्वास छ ।

भाद्र शुक्ल द्वादशीका दिन हुनुमानढोका अगाडि धार्मिक विधिअनुसार इन्द्रश्वजसहितको लिंगो ठड्याएपछि सुरु भएकाे जात्रामा विभिन्न प्रकारका नाचगान, रथयात्रा तथा देवीदेवताको पूजाआजा गरी ८ दिनसम्म मनाइने गरिन्छ । यस पर्वमा हनुमानढोका लगायतका क्षेत्रमा जीवितदेवीका रूपमा रहेकी कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने परम्परा छ । 
 

प्रतिक्रिया