इन्द्रजात्राको सुरुवातसँगै पौराणिक नाच दी प्याखं अर्थात देवी नाच प्रदर्शन सुरु

काठमाडौं । इन्द्रजात्राको सुरुवातसँगै  पौराणिक नाच दी प्याखं अर्थात देवी नाच प्रदर्शन सुरु भएको छ ।

काठमाडौं महानगरपालिका १८ किलागलमा  नाचिने पौराणिक दी प्याख बिहीबार विहान प्रदर्शन गरिएको हो । कायअष्टमीका दिन ‘पिदने’ नामको तेस्रो पूजा गरेर मुकुट, मुकुण्डो, घुँघुरा र पोशाकसहितको नृत्य गरिएको हो । 

देवी पात्रहरुमा भैरव, कुमारी, चण्डी, दैत्य, कवं अर्थात कङ्काल, बेताः अर्थात बेताल र ख्याः अर्थात ख्याक हुन्छन् । नाचले असत्य माथि सधै सत्यको जीत हुन्छ भन्ने सन्देश दिन्छ । अन्य परम्परागत नाचहरुमा दैत्यको वध गरेको देखाइन्छ। यस नाचमा पराजित दैत्य भागेको देखाइन्छ । 


विभिन्न मुद्रा र आसनमा नचाइने यो नाच, शान्ति होस्, रोगव्याधी नहोस्, विनाशकारी र प्रलयकारी घटना नहोस् भन्ने कामनासहित प्रस्तुत गरिन्छ । श्रावण शुल्क चौथीका दिन पहिलो पूजा गरेर नृत्य प्रशिक्षण सुरु हुन्छ । भाद्र शुक्ल चतुर्थीका दिन दोस्रो पूजा गरिन्छ । यसलाई ‘घँगलासि’ भनिन्छ । यसमा पात्रहरुलाई दैवी शक्ति प्राप्त होस् भनेर पूजा गर्ने गरिन्छ । यो नृत्य इन्द्रध्वज उत्थान गर्नुअगाडि बसन्तपुरको कागेश्वरी महादेव मन्दिर अगाडिको डवलीमा नचाइन्छ । यसपछि इन्द्रध्वज ठड्याएपछि इन्द्रजात्रा औपचारिक रुपमा सुरु भएको मानिन्छ ।

इन्द्रजात्राका दिन जैसीदेवल अगाडिको डवलीमा नाच नाचिन्छ । कुमारीको रथ यस ठाउँमा आएपछि रथ रोकेर कुमारीलाई पनि नाच देखाउने चलन छ । यसैगरी येँया पूर्णिमाका दिन बाङ्गेमुढा र इन्द्रचोकको डवलीमा नचाइन्छ । जात्राको अन्तिम दिन नानिचायाः का दिन किलागल डवलीमा अन्तिम पटक प्रदर्शन गरिन्छ । इन्द्रजात्राको क्रममा पुलुकिसी, आकाश भैरव, लाखे जस्ता नाच कुमारीको रथ अगाडि पछाडि नचाइन्छ भने यो देवी नाच विभिन्न डवलीहरुमा मात्र नचाइन्छ ।

प्रतिक्रिया