रकगायक तथा सिने कलाकार रविन तामाङको निधन

रकगायक तथा सिने कलाकार रविन तामाङको साठी वर्षको उमेरमा निधन भएको छ । बुढानीलकण्ठस्थित घरमा हिजो बेलुका उनको निधन भएको हो । अहिले शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । तामाङको मृत्युको कारण खुलेको छैन । प्रहरी प्रभाग बूढानीलकण्ठका अनुसार मङ्गलबार साँझ गायक तामाङले फोन नउठाएको भन्दै प्रहरीलाई फोन आएको थियो । तामाङको घरमा प्रहरी टोली पुग्दा उनी खाटको छेउ मृत भेटिएका थिए । मृत्युको कारण शव परीक्षणपश्चात मात्र खुल्ने प्रहरीले जनाएको छ । रविन एण्ड द रिभोलुसन ब्याण्डका भोकलिस्ट रविनले सिने क्षेत्रमा पनि काम गरेका थिए । उनले छड्के, मुखौटा लगायतका एक दर्जन चलचित्रमा अभिनय गरेका छन् । सिंगापुरमा जन्मेर सन् १९९६ मा नेपाल आएका उनले ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’ जस्ता चर्चित गीत गाएका थिए । पछिल्लो समय चलचित्र ‘छड्के–२’ मा अभिनय गरेका गायक तामाङको नेपाली रकशैली गीतको विकासमा उल्लेख्य योगदान रहेको छ । उनको निधनमा नेपाली संगीतकर्मीले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन् ।

<iframe width="654" height="480" src="https://www.youtube.com/embed/kdcAvYi4Fr8" title="रकगायक तथा सिने कलाकार रविन तामाङको निधन" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" allowfullscreen></iframe>

प्रतिक्रिया