जाजरकोट पहिरो अपडेट : वडा सदस्य दम्पतीको शव फेला

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर ६ मा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । 

शनिबार राती दुई बजे खसेको पहिरोमा पुरिएका ४७ वर्षीय मानबहादुर चलाउने र उनकी ३८ वर्षीया श्रीमती प्रेमकुमारी चलाउनेको शव फेला परेको हो । पहिरोमा घर पुरिएर वेपत्ता भएका श्रीमान–श्रीमतीको शव स्थानीय र सुरक्षाकर्मीले निकालेका हुन ।

प्रेमकुमारी वडा नम्बर ६ कि निर्वाचित महिला सदस्य समेत हुन् । उनीहरुका ११ वर्षिया छोरी सम्झना चलाउनेको भने उद्धार गरी थप उपचारका लागी नेपाली सेनाको हेलिकप्टर मार्फत प्रदेश अस्पताल कालागाउँ सुर्खेत ल्याइएको छ । 

सोही घरमा बस्दै आएकी आफन्त पर्ने १६ वर्षीया बिमला चलाउने भने पहिरो आउनु अगावै भाग्न सफल भएको जनाइएको छ । पहिरोका कारण कर्णाली राजमार्ग समेत अवरुद्ध भएको छ । कालिकोटको गगने खोला र एसमोडमा बिहान पाँच बजे पहिरो खस्दा सडक अवरुद्ध भएको हो । पहिरो पन्छाउने काम भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया