पश्चिम तराईमा उल्लासपूर्वक अटवारी पर्व मनाइँदै

सुदूरपश्चिम । पश्चिम तराईका थारू समुदायमा आइतबार अटवारी पर्व मनाइँदैछ । यो पर्व आइतबार मनाइने हुनाले ‘अटवारी’ भनिएको हो । 

महाभारतकालमा पञ्चपाण्डवमध्येका भीमले वनवासका बेला प्रदर्शन गरेको बहादुरीको स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन सुरु भएको विश्वास गरिन्छ । अटवारी पर्व भाद्र कृष्ण अष्टमीपछिको दोस्रो आइतबारका दिन मनाइन्छ । 

अटवारी विशेषगरी दुई दिन मनाउने गरिन्छ । यो पर्वमा दाजुभाइले दिदीबहिनीका लागि व्रत बस्ने चलन छ ।  शनिबारको राति भिन्सर्या (दर भात) खाने चलन छ । आइतबार पहिलो दिन दिनभरि व्रत बसेर फलफूल र रोटीका परिकार बनाउने गरिन्छ भने दोस्रो दिन बिजोडी थरिथरिका तरकारीलगायत खानेकुरा पकाइन्छ । व्रत लिएर बेलुका पूजाको काम सकिएपछि छोरी, दिदीबहिनीका लागि छुट्याइने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ ।

त्यही परिकार लिएर दाजुभाइ विवाहिता दिदीबहिनीलाई भेट्न उनीहरूकै घर जान्छन् । अग्रासनलाई दिदीबहिनीले अत्यन्त महत्वका साथ लिने गरेको थारु अगुवा चौधरीले बताए । दाइभाइले दिदीबहिनीप्रतिको स्नेह दार्शाउने विशेष अवसर नै अटवारी हो ।

अग्रासन दिइसकेपछि यो पर्वको समापन भएको मानिन्छ । आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रूपमा पनि ‘अटवारी’लाई लिने गरिन्छ ।  

प्रतिक्रिया