मन्त्री अधिकारीको अभिव्यक्तिको विरोध, सार्वजनिक माफी माग्नुपर्ने माग

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी पीडितहरुविरुद्ध दिएको अभिव्यक्तिको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले विरोध जनाएको छ । 

बिहीबार एक विज्ञप्ती प्रकाशित गर्दै अभियानले बचत फिर्ताको माग गर्दै १६ महिनादेखि आन्दोलनरत सहकारी पीडितको घाउमा मन्त्री अधिकारीको अभिव्यक्तिले नुन–लगाएको जनाएको हो । 

बुधबार सहकारी पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री अधिकारीले बैंकबाट सस्तोमा ऋण लिएर सहकारीबाट महँगो ब्याज खानेहरु आन्दोलनमा रहेको अभिव्यक्ति दिएका थिए । अभियानका अध्यक्ष कुशलभ केसीद्वारा जारी विज्ञप्तीमा मन्त्री अधिकारीको अभिव्यक्ति आपत्तिजनक र भ्रमपूर्ण भएको उल्लेख छ । 

मन्त्री अधिकारीले सार्वजनिक माफी माग्नुपर्ने माग अभियानको छ । मन्त्री अधिकारीले एउटा बाहेक सबै माग सम्बोधन भई कार्यान्वयन भइसकेको भनि गरेको दाबी समेत झुटो भएको अभियानको भनाइ छ । अभियानले मन्त्रीको अभिव्यक्तिको विरोधमा बिहीबार दिउसो दुई बजे रत्नपार्कस्थित अनसन स्थलमा प्रदर्शनको तयारी समेत गरेको छ । 

अभियानले भदौ २३ गतेदेखि पुन आन्दोलनको तयारी गरेको छ । 

प्रतिक्रिया