साफ च्याम्पियनसिप फुटबल बेंग्लोरमा सुरु हुँदै

उद्घाटन खेलमा नेपालले कुवेतको सामना गर्ने

साफ च्याम्पियनसिपको १४ औँ संस्करण आज देखि भारतको बेंग्लोरमा हुँदै छ । पहिलो खेलमा आज नेपालले आमन्त्रित टिम कुवेतको सामना गर्नेछ । नेपाल र कुवेतबीचको खेल बेंग्लोरको श्री कान्तिरभा स्टेडियममा अपराह्न पौने चार बजेपछि सुरु हुनेछ । कुवेत र लेबनानले पहिलो पटक आमन्त्रित टिमको रूपमा साफ खेल्न लागेका हुन् । साविकको उपविजेतासमेत रहेको नेपालले उदाटन खेलमै बलियो कुवेतको चुनौती पाएको हो ।कुवेत फिफा वरीयताको १ सय ४३ औँ स्थानमा छ । १ सय ७४ औँ स्थानको नेपालले कुवेतलाई कडा टक्कर दिन सक्ने अनुमान छ ।नेपाल र कुवेतबीच अहिलेसम्म भएका तीन खेलमा नेपाल जितविहीन छ । पछिल्लो पटक सन् २०२२ को जुनमा एसिया कप छनोटको तेस्रो चरणमा नेपाललाई कुवेतले ४ – १ ले पराजित गरेको थियो । नेपाल र कुवेतसँगै समूह ‘ए’मा आयोजक भारत र पाकिस्तानसमेत छन् । पाकिस्तान र भारतबीच राति पौने आठ बजे दोस्रो खेल हुनेछ । नेपालले भने अहिलेसम्म साफ जित्न सकेको छैन । माल्दिभ्समा सम्पन्न १३ औँ साफमा नेपाल पहिलो पटक फाइनल पुगे पनि उपाधि भिडन्तमा भारतसँग पराजित भएको थियो ।

प्रतिक्रिया