काठमाडौ सहित धरान र पोखरामा भारतीय फिल्मलाई प्रतिबन्ध

aadipurus

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको निर्देशनपछि काठमाडौं महानगरभित्रका फिल्म हलमा भारतीय फिल्म चल्न छाडेका छन् । हिजो बालेनले आजदेखि काठमाडौं महानगरभित्रका हलमा फिल्म चलाउन नदिने बताएका थिए । आज सोमबार विहानदेखि हिन्दी फिल्मका शो रोकिएका छन् ।
केही हलमा आदिपुरुषको विहान सात बजेको शो रहेकोमा रद्द भएको हो । धेरै हलले हिन्दी फिल्मको पोष्टर समेत हटाएका छन् भने आगामी फिल्मको प्रचार पनि रोकेका छन् । हिजो सामाजिक सञ्जालमार्फत विज्ञप्ती जारी गर्दै शाहले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने गर्ने भएकाले भारतीय चलचित्र प्रदर्शनमा रोक लगाइएको जानकारी दिएका थिए । उपत्यकामा हिन्दी चलचित्र निषेध ‘आदिपुरुष’चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म कायम रहने शाहको भनाइ छ । भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश हटाउन यसअघि महानगरले तीन दिनको समय दिएको थियो । तर सो समयमा दृश्य नहटाइएपछि हिन्दी फिल्म रोक्ने निर्णय गरिएको महानगरको भनाइ छ । नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने महानगर प्रमुख शाहले बताएका छन । चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुती माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने उनको भनाइ छ । काठमाडौं महानगरका ३२ वडाभित्र १७ फिल्म हल छन् ।।

उता धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि उपमहानगरभित्र भारतीय चलचित्र ‘आदिपुरुष’ चल्न नदिने भएका छन्।उनले सोमबार सामाजिक सञ्जालमार्फत् धरानका चलचित्रहलहरूलाई आदिपुरुष प्रदर्शन नगर्न निर्देशन दिएका हुन्।

यता, पोखरा र काठमाडौँ महानगरपालिकाले भने भने कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न नदिने जनाएका छन्। भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद नसच्याएसम्म भारतीय चलचित्र प्रदर्शन गर्नमा रोक लगाइएकाे हाे।महानगर प्रमुख धनराज आचार्यले पोखराका विभिन्न हलमा चिठी पठाएर हलवालाहरूलाई सू-सूचित गरेका छन्।

दुवै महानगरले चलचित्र आदिपुरुषमा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद नसच्याइएको हुँदा सोमबारदेखि कुनै पनि हिन्दी चलचित्र चल्न नदिने बताएका हुन्।

 

प्रतिक्रिया