२० वर्षमा बिवाह गर्ने र चाँडो सन्तान  प्राप्ति गर्ने वातावरण बनाउ


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो मंगलबार अन्तर्राष्ट्रिय युवा दिवसको समापन कार्यक्रममा नेपाली युवा युवतीलाई  २० वर्षको आसपासमा विवाह गर्न र चाँडो सन्तान प्राप्तिका योजना बनाउन सुझाव दिएको विषय अहिले चर्चामा छ  । 

नेपालको कानूनले पनि केटा र केटीको उमेर २० वर्ष पुगेपछि विबाह गर्न पाउने व्यवस्था गरेको छ । प्रधानमन्त्रीले नेपालको जनसङ्ख्या वृद्धि दर न्यून रहेकाले युवा युवतीलाई यो सुझाव दिनुपरेको बताए । आज नेपाली युवा युवतीहरु बिवाह भन्दा पनि अहिले आफ्नो सुन्दर भविष्यको खोजीमा छन् । त्यो भनेको शिक्षा र रोजगारी हो ।  त्यही रोजगारी नपाउँदा नै उनीहरु प्रधानमन्त्रीले भनेकै उमेर आसपास बाध्यात्मक अवस्थामा विदेशिने गरेका छन् ।

उनीहरु विदेशिएपछि कताको बिवाह कताको सन्तान प्राप्ति ? स्वदेशमा अवसर छैन । बेरोजगारी बस्दा कसरी श्रीमति पाल्ने अनि कसरी सन्तान प्राप्ति गर्ने ? त्यसका लागि सबैभन्दा पहिला राज्यले युवा युवती र शिक्षित जनशक्तिलाई स्वदेशमै रोक्नेगरी नीति बनाउनु पर्छ । आज गाउँघरमात्रै होइन सहर बजार पनि युवा बिहिन बन्दैछन् । बृद्धबृद्धामात्रै घरमा बस्नुपर्ने अवस्था हुँदैछ । यसमा राज्यले सोच्नु पर्दैन र ? त्यतिकै सुन्दर भविष्य हुन्छ र? देशमा रोजगारीका अवसर  नहुँदा युवावर्ग विदेशिने क्रम बढेको भनेर तपाइँहरु चिन्ता ब्यक्त गर्नुहुन्छ । यो कसलाई सुनाएको हो ? राजनीतिमा नेतृत्व गर्ने तपाइँहरु नै होइन र ?

सबै नीतिहरूको राजा मानिने राजनीति तपाइँहरुकै हातमा छनि । तर त्यसलाई तपाइँहरु आफनो स्वार्थमा प्रयोग गर्नुहुन्छ । देश र जनताको हितमा खै प्रयोग गरेको ? भाषणले पेट भरिदैन,काम गरेर देखाउनु पर्छ । नेपाल विश्वको त्यो राष्ट्र हो जहाँ नेतृत्वमा रहनेले आफू खुसी आफ्नो स्वार्थअनुकूल जे पनि गर्न पाउँछन् । कानुनको खिल्ली उडाउन छुट छ । कानुन हातमा लिन छुट् छ अर्थात् कानुन तोडमोड गर्न छुट छ । तर जनताको पक्षमा के छ ?
सजिलोका लागि तर्क जे गर्न पनि सकिन्छ । जसरी पनि गर्न सकिन्छ । तर यथार्थलाई आत्मसाथ कहिले गर्ने ? तपाइँहरु उपदेश दिनुहुन्छ,तर उपदेश लिनुहुन्न । यति हुँदा हुदै  पनि तपाइँको क्रेज छ । केपी ओली वा केपी बा भन्नेबित्तिकै नेपाली समाजले तपाइँका कुरा सुन्छ , मनोरञ्जन लिन्छ । जहाँ तपाइँ पुग्नुहुन्छ भीड तपाइँतिर ओइरिन्छ । मानिस उत्सुक हुन्छन् । राजनीतिबाट पर रहेका पनि तपाइँको भाषणकला,हिम्मतिलो बोलीले   बुढापाकादेखि बालबच्चासम्म ‘फ्यान’ छन् । तपाइँले राजनीतिमा उधुम मच्चाएर होइन् । तपाइँले गलत या नराम्रो बोल्नु भएको भन्ने पनि  होइन ।किनकि तपाइँ स्पष्ट बोल्नुहुन्छ । आफ्नो अडान राख्नुहुन्छ । हिम्मत गर्नुहुन्छ । 

अब तपाइँले नीति नै बनाएर युवा युवतीलाई बेलैमा बिवाह गर्ने र सन्तान पनि प्राप्तिको वातावरण बनाउनुस् । तबकि भविष्य सोचेर बुढेसकालमा बच्चा जन्माउने वातावरणको अन्त्य होस् ।  ठट्यौली पाराले मात्रै अब देश बन्दैन,युवा युवती बिदेश जानबाट रोकिदैनन् । तपाइँ सरकारको नेतृत्व गरिरहनु भएको छ । शिक्षित जनशक्ति,युवा युवती विदेशिए भनेर रोइलो गर्नुको औचित्य छैन । सही नीति बनेन भने तपाइँहरुका कार्यकर्ता बनेर युवाहरु पक्कै बस्दैनन् । 


     
    
     
     

प्रतिक्रिया