किन भइरहन्छ  नेपालमा हेलिकप्टर दुर्घटना ?

काठमाडौं । बुधवार नुवाकोटमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । 

काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको सो हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिकाको वडा नम्बर –७ स्थित सूर्यचौर क्षेत्रमा दुर्घटना हुँदा क्याप्टेन अरुण मल्ल र ४ जना चाइनिज नागरिक सहित गरेर पाँच जनाको मृत्यु भएको छ ।

यसअघि सन् २०१९ मा ताप्लेजुङमा एयर डाइनेस्टीकै हेलिकप्टर दुर्घटना हुँदा तात्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना बिशिष्ट ब्यक्तिको मृत्यु भएको थियो। सन् २०१८ मा  एल्टिट्युड एयरको हेलिकप्टर धादिङ र नुवाकोटकोबीचमा रहेको जंगलमा  दुर्घटना हँदा ६ जनाको मृत्यु भएको थियो। सन् २०१५ भूकम्प पछिको राहत तथा उद्धारकार्यमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर चरीकोटनजिकै दुर्घटना हुँदा ६जना  अमेरिकी सैनिक, २ जना  नेपाली सेनाका अधिकारी र ५ जना सर्वसाधारणको मृत्यु भएको थियो।

सन् २०१५मा सिन्धुपाल्चोकमा भूकम्पको राहत तथा उद्धारमा गएको डक्टर्स विदाउट बोर्डसले चार्टर गरेको हेलिकप्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो।सन् २००६ मा ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटना नेपालको इतिहासमा हालसम्मकै सबैभन्दा ठूलो मानवीय क्षति भएको थियो। दुर्घटनामा तत्कालीन वन तथा भू–संरक्षण राज्य मन्त्री गोपाल राई सहित २४ जनाको मृत्यु भएको थियो । नेपालमा हेलिकप्टर दुर्घटनामा हालसम्म ९० जनाको ज्यान गइसकेको छ ।  नेपालमा हेलिकप्टर उडानहरू हिमाली उद्धार र उच्च भेगमा मालसामान ढुवानी जस्ता काममा प्रयोग हुने गरेका छन्। सिम्रिक, मनाङ र अल्टिट्युड एयरको हेलिकप्टर पनि दुर्घटनामा परेका थिए । 

नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार नेपालमा सबैभन्दा पहिलो हेलिकप्टर दुर्घटना सन् १९८९ मा रसुवा जिल्लाको लाङटाङमा भएको देखिन्छ। विशिष्ट व्यक्तिहरू लिएर गएको उक्त हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो । त्यसपछि बिभिन्न समयमा हेलिकप्टर दुर्घटनामा परेको देखिन्छ । पछिल्लो समय नेपाली आकाश कतिको सुरक्षित छ भन्ने कुरामा प्रश्न उठ्ने गरेको छ ।

 हेलिकप्टर उडानमा रहेको सुरक्षा चुनौतीकै कारण युरोपेली संघ (इयू)ले नेपाललाई कालो सूचि(सुरक्षा सूचि) मा राखेको कतिपयको दाबी छ । नेपालमा बारम्बार हुने हेलिकप्टर दुर्घटनाकै कारण  उसले नेपाललाई कालो सूचिमा राख्दै आएको छ । 

नेपालमा भएका धेरै हवाई दुर्घटनामा प्रतिकूल मौसम र त्यसको आकलनमा हुने चालकको कमजोरीलाई प्रमुख रुपमा लिने गरिएको छ । एयर डाइनेष्टीका सिनियर मेनेजर बालकृष्ण पण्डितले आकस्मिक मौसम बदलीका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरे । पहाडी भूभागको मौसम पूर्वानुमानका लागि पर्याप्त पूर्वाधार र स्रोतको अभावले पनि ती क्षेत्रका उडान चुनौतीपूर्ण हुने गरेको पाइलटहरु बताउँछन् ।

पाइलटहरुले मौसम आँखाले आकलन गरेर हेलिकप्टर उडाउँदा कतिपय अवस्थामा त्यो सही हुन नसक्ने कतिपय उडान क्षेत्रका जानकारहरु बताउँछन । तर यतिमात्रै दुर्घटनाको कारण नभएर अन्य कारणहरु प्नि हुन सक्छन् । हेलिकप्टरको पार्टपूर्जा, प्राविधिक गडबढी, उपकरणले भने दुर्घटना कमै हुने गरेको कतिपय बिज्ञहरुको भनाई छ । किनकि प्राविधक गढबढीबारे पूर्व जानकारी दिन प्रविधिको जडान गरिएको हुन्छ ।

पछिल्ला समयमा नेपालमा साना ठूला हवाइ दुर्घटना भइरहेका छन् । त्यसको कारण के हो किन र कसरी दुर्घटना भएको भन्ने यकिन गरेर नेपाली आकाशलाई सुरक्षित बनाउनु पर्ने देखिन्छ । मानवीय वा संरचनागत त्रुटी के हो त्यसलाई ठम्याउन जरुरी छ ।  

छानबिन समिति बन्छन् तर प्रभावकारीतामा प्रश्न 

नेपालमा हेलिकप्टर होस या विमान दुर्घटना भएका अवस्थामा सरकारले छाविन समिति बनाउने गरेको छ । एयर डाइनेष्टीको आज बुधवार शिवपुरीमा भएको हेलिकप्टर  दुर्घटनाबारे पनि छानबिन गर्न सरकारले तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका बरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेको हो । हरेक हवाई दुर्घटनापछि छानबिन आयोग बन्छन्, तर प्रभावकारितामा सधैँ प्रश्न उठ्ने गरेको छ । छानबिन समितिले दिएका सुझावहरु कार्यान्वयन गराउने सम्बन्धित निकायको उदासिनताले छानबिनको औचित्यमा प्रश्न उठ्ने गरेको हवाई विज्ञहरुको भनाई छ  । प्रतिवेदन कुन निकाय र कसले कार्यान्वयन गराउने भन्ने नै मुख्य प्रश्न रहेको उनीहरुको भनाई छ । 

प्रतिक्रिया