महामन्त्री ढकालले बुझाएको प्रतिवेदनबारे छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले महामन्त्री डा. मुकुल ढकालले बुझाएको प्रतिवेदनबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ । केन्द्रीय समितिको बैठक आगामी बुधबार पार्टी कार्यालयमा चःमतिमा बोलाइएको हो । महामन्त्री ढकालले गत बुधबार पार्टी सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएका थिए । प्रतिवेदनमा ठूला दलसँग सहकार्य गर्न नहुने, संघीयता खारेज गर्नुपर्ने लगायतका सुझाव समेटिएका छन् । पार्टी सरकारमा गएपछि कमजोर भएको विषय पनि प्रतिवेदनमा समेटिएको छ । समीक्षा यात्राका क्रममा पार्टीका नेता—कार्यकर्ता, शुभेच्छुकहरूले पार्टीको जनाधार खस्कँदै गएको र यस्तै अवस्था रहे राष्ट्रिय पार्टी बन्न पनि मुस्किल हुने भन्दै दिएको सुधावलाई समेटेर उनले प्रतिवेदन तयार पारी बुझाएका हुन् । गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ को उपचुनावमा रास्वपाले अनपेक्षित नतिजा ल्याएको भन्दै पार्टीले महामन्त्री ढकाललाई समीक्षा यात्रामा पठाएको थियो । ढकालले जेठ ६ गतेदेखि असार ५ गतेसम्म ३९ जिल्ला भ्रमण गरेर प्रतिवेदन पार्टीलाई बुझाएका हुन् ।
प्रतिक्रिया