परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोग बनाउन नेपालद्वारा चीनसामू प्रस्ताव

दुई देशबीचको समस्या समाधानमा सहज हुने भनाइ

नेपालले दुवै देशका परराष्ट्रमन्त्री रहने गरी संयुक्त आयोग बनाउन चीनसँग प्रस्ताव गरेको छ । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको आजको काठमाडौंमा सुरु भएको १६ औं बैठकमा नेपालले उक्त प्रस्ताव गरेको हो । पछिल्लो समय चीनसँग नेपालको हरेक क्षेत्रमा सम्बन्ध र सम्पर्क बढ्दै गएकाले ती विविध विषयमा समग्र छलफल गरी निकास दिन सहज हुने भएकाले नेपालले मन्त्रीस्तरीय आयोगको आवश्यकता महसुस गरेको परराष्ट्र मन्त्रालयको भनाइ छ । मन्त्रीस्तरीय संयन्त्रमा बसेर नै दुई देशबीच समस्या समाधान गर्न सहज हुने भन्दै नेपालले बैठकमा आयोगको प्रस्ताव गरेको हो । नेपालको प्रस्तावमा चीनले कुनै प्रतिक्रिया जनाएको छैन । अहिले नेपाल र चीनबीच परराष्ट्र सचिव तहसम्मको मात्रै द्विपक्षीय कूटनीतिक संयन्त्र रहेको छ। भारतसँग भने पहिलेदेखि नै परराष्ट्रमन्त्रीस्तरीय आयोग रहेको छ ।

प्रतिक्रिया