६० केजी सुन तस्करी प्रकरणको दोस्रो चरणको अनुसन्धान अन्तिम चरणमा

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले ६० केजी सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानलाई अन्तिम चरणमा पु¥याएको छ । दोस्रो चरणको अनुसन्धान अन्तिम चरणमा पुगेको र अनुसन्धान प्रतिवेदन तयार गर्ने काम भइरहेको सिआइबीले जनाएको हो । पक्राउ परेका थप २० जनाविरुद्ध तयार अनुसन्धान प्रतिवेदन यसै साता जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी छ । दोस्रो चरणको अनुसन्धानमा सुन तस्करी गर्ने, गलाउने, ओसारपसार गर्ने, खरिद तथा बिक्री गर्ने तथा रकम व्यवस्थापन गर्न योजनाबद्ध रूपमा काम गरेका रहेका छन् भन्नेमा केन्द्रीत रहेको बताइएको छ ।  ६० केजी सुन तस्करी प्रकरणमा सिआइबीले गरेको दोस्रो चरणको अनुसन्धानमा तस्करीको रकम बैङ्किङ भुक्तानी ‘पेवेल’ ‘सजिलो पे’ मार्फत हुने गरेको खुलेको छ । यसअघि पहिलो चरणमा पहिलो चरणको अनुसन्धान पूरा गरी गत असोज १ गते २९ जनाविरुद्ध तीन अर्ब ३० करोड ३० लाख रुपियाँ बिगो तथा जरिबानाको मागसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । २०८० साउन २ गते हङकङबाट क्याथे प्यासेफिकको विमानमार्फत नेपाल भित्रिएको स्कुटरको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको अवस्थामा ६० केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । तस्करीको सुन गलाउने र विभिन्न आकारमा बनाई ओसारपसार गर्ने मुख्य योजनाकार भारत गुजरातका बैजनाथ महादत्त गोयललाई गत वैशाख २१ गते पक्राउ गरी सिआइबीले दोस्रो चरणको अनुसन्धान सुरु गरेको थियो ।
 

प्रतिक्रिया