बंगलादेशलाई हराउँदै अफगानिस्तान पहिलोपटक टी—२० सेमिफाइनलमा

आईसीसी टी–२० विश्वकप अन्तर्गत ‘सुपर–८’ को अन्तिम खेलमा बाङ्लादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा पुगेको छ । आज बिहान भएको खेलमा अफगानिस्तानले बाङ्लादेशलाई ८ रनले पराजित गरेको हो । सन् २०१० बाट विश्वकप खेल्दै आएको अफगानिस्तान पहिला ेपटक सेमिफाइनल पुग्न सफल भयो । वर्षाका कारण १९ ओभरमा छोट्याइएको खेलमा १ सय १४ रनको लक्ष्य पाएको बाङ्लादेश १७ दशमलव ५ ओभरमा १ सय ५ रनमै समेटियो । बाङ्लादेशका लागि प्रारम्भिक ब्याटर लिन्टन दासले अविजित अर्धशतक बनाए । उनले ४९ बलमा पाँच चौका र एक छक्का प्रहार गर्दै ५४ रन प्रहार गरे । अफगानिस्तानका लागि नवीन उल–हक र राशिद खानले चार–चार, फजलहक फारुकी र गुल्बदिन नाइबले एक–एक विकेट लिए । यसअघि ब्याटिङ गरेको अफगानिस्तानले पाँच विकेटको क्षतिमा १ सय ५ रन जोडेको थियो ।  जितसँगै अफगानिस्तान समूह–१ को दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो । यो समूहको शीर्षस्थानमा रहँदै भारत सेमिफाइनलमा पुगिसकेको छ । अस्ट्रेलिया विश्वकपबाट बाहिरिएको छ । समूह–२ बाट दक्षिण अफ्रिका र इङ्ल्यान्ड सेमिफाइनलमा पुगिसकेका छन् । अब फाइनलका लागि भारतले इङ्ल्यान्ड र अफगानिस्तानले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछन् । 
 

प्रतिक्रिया