मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने
मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गरिएको छ । मेलम्ची नदीको बहाब बढेर नदीमा बाढी आई धमिलिन थालेपछि आयोजना बन्द गरिएको हो । मेलम्ची नदीमा बाढीसँगै पानी धमिलिन थालेको बताउँदै आयोजनाको संरचनालाई सुरक्षित गर्न बन्द गरिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । यसअघि नदी नधमिलिएसम्म उपत्यकावासीलाई खानेपानीको आपूर्ति सहज बनाउन आयोजना सञ्चालनमा ल्याइएको थियो । गत जेठ ३१ गते मेलम्ची खानेपानी आयोजना बन्द गर्ने भनिए पनि ठूलो वर्षा नहुँदा पानी बन्द गरिएको थिएन । यसैगरी समितिले गत शुक्रबार पनि मेलम्ची बन्द गर्ने तयारी गरेको थियो । नदीमा पानीको बहाव नबढेपछि आयोजना सञ्चालन गरिएको थियो । परामर्शदाता तथा एसियाली विकास बैङ्क एडीबीले मनसुनी जोखिमबाट आयोजनालाई जोगाउन मेलम्ची बन्द गर्न सुझाव दिएका छन । समितिले मनसुन अवधिमा विपत्तिको जोखिम कम भए मात्रै मेलम्चीको पानी पठाउन पुनःसुरु गर्ने तयारी गरेको छ । मनसुन सकिएपछि मात्रै उपत्यकावासीले फेरि मेलम्चीको पानी पाउने बताइएको छ । मनसुनजन्य विपत्तिबाट आयोजनाको हेडवक्र्समा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले वर्षा सुरु भएसँगै आयोजना बन्द गर्ने र वर्षा सकिएपछि खोल्ने गर्दै आइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा सरदर मनसुन जुन १३ मा भित्रिने गरे पनि यो पटक तीन दिन चाँडो भित्रिएको थियो । मनसुन अक्टोबर २ मा बाहिरिने गर्दछ ।
प्रतिक्रिया