स्वस्थ मानसिकताका लागि योगले निर्णय क्षमतामा वृद्धि गर्छ: रवि लामिछाने

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले तन्दुरूस्त शरीर र स्वस्थ मानसिकता एवम्  व्यायामले निर्णय क्षमतामा प्रभाव पार्ने हुँदा योगलाई निरन्तरता दिन सामूहिक प्रतिबद्धताको आवश्यकता रहेको बताएका छन् । आज पतञ्जलि योग समिति नेपालसँगको सहकार्यमा नेपाल प्रहरीद्वारा आयोजित एक दिवसीय योग विज्ञान शिविर, २०८१ कार्यक्रम उनले यस्तो बताएका हुन् । गृहमन्त्री लामिछानेले स्वस्थ शरीर र स्वस्थ मानसिकताले गर्ने निर्णय सबैभन्दा महत्त्वपूर्ण हुने बताए ।
गृहमन्त्री लामिछानेले युनिफर्म लगाएको प्रहरी देखेर हरेक नागरिकले सुरक्षित महसुस गर्नुपर्ने चर्चा गर्दै त्यसका लागि शरीरिक र मानसिक हर हिसाबले चुस्त दुरूस्त हुन जरूरी रहेको बताए । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले शिविरको माध्यमबाट योगको महत्त्व र योगाभ्यासका बारेमा सकल दर्जा माझ सचेतना अभिवृद्धि भई प्रत्यक्ष रूपमा लाभान्वित भएको विश्वास व्यक्त गरे । 
कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले योगले आत्मा र शरीरको सम्बन्ध सुधार गर्ने बताउँदै मस्तिष्कको असीमित क्षमतालाई उजागर गर्न योग विज्ञान महत्त्वपूर्ण हुने उल्लेख गरे । कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, अवकाशप्राप्त प्रहरी महानिरीक्षक, नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्षलगायत पदाधिकारीहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, लगायतको  सहभागिता थियो ।    

प्रतिक्रिया