रुसी राष्ट्रपति पुटिन २४ वर्षपछि उत्तर कोरियामा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २४ वर्षपछि उत्तर कोरिया पुगेका छन् । पुटिनलाई स्वागत गर्न उत्तर कोरियाली नेता किम जोङ्ग उन आफैं सुनान अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । उत्तर कोरियाको भ्रमणमा पुटिन दोस्रो पटक पुगेका हुन् । रुसले पुटिनको यो भ्रमणलाई ‘मैत्रीपूर्ण राजकीय यात्रा’ नाम दिएको छ । पुटिनको उत्तरकोरिया भ्रमणले विश्वभर चर्चा पाइरहेको छ । पश्चिमा देशहरुले यी दुई नेताबीच हुने छलफललाई चासोका साथ हेरेका छन् । उनीहरुलाई रुस र उत्तर कोरियाबीच हतियारको डिल हुन सक्ने डर छ । युक्रेनविरुद्धको लडाइँमा रुसलाई उत्तर कोरियाले आर्थिक सहायता र प्रतिरक्षा प्रविधिसँग सम्बन्धी समझदारी हुने अनुमान पश्चिमा देशहरुले गरेका छन् ।  । हुन पनि रुसलाई युक्रेनविरुद्धको लडाइँमा डटिरहन थप अत्याधुनिक हतियारको आवश्यकता छ । युक्रेनलाई अमेरिका र अमेरिकाका सहयोगी देशहरुले सहयोग गर्दै आएकाले रुसलाई युक्रेनसँगको लडाइँ पेचिलो बन्दै गएको छ । ब्रिटिश मिडिया वेबसाइट इन्डिपेन्टका अनुुसार पुटिन र किमजोङ्ग उनबीच एक बैठक पनि आयोजना भएको छ । सो बैठकमा पुटिनले युक्रेनविरुद्धको लडाइँमा रुसलाई समर्थन गरेको भन्दै उत्तर कोरियाको प्रशंसा गरेका थिए । साथै उनले पश्चिमा देशहरुले लगाएको प्रतिबन्धको मिलेर सामना गर्ने चाहना पनि व्यक्त गरेका थिए । उत्तर कोरिया बसाइको क्रममा पुटिन गाला कन्सर्टमा सहभागी हुने र अर्थोडक्स चर्चको भ्रमण गर्ने छन् ।
 

प्रतिक्रिया