बाजुरामा आलुबाली सुधारका लागि कृषक पाठशाला सञ्चालन

महोत्सव गरेपछि किसानहरु खेतीका लागि हौसिदैं

बाजुरा– आलु खेतीलाई आम्दानीको प्रमुख स्रोत बनाउन बडिमालिका ७ मा आलुबालीको जात सुधारका लागि कृषक पाठशाला सञ्चालन गरिएको छ । जिल्लाकै सबै भन्दा बढि आलु उत्पादन हुने क्षेत्रमा रहेको ढम्कनेको आलुको जात सुधारका लागि सो पाठशाला संचालन गरिएको हो । हाल ढम्कनेमा १ जना किसानले ३० देखि ६० क्विन्टलसम्म आलु फलाउने गरेका छन् । आलु उत्पादन गरेर बजारीकरण भन्दा पनि किसानलाई आलुका परिकारहरू बनाउने तालिम दिएर बिभिन्न परिकार बनाउन सिकाउने अभियान संचालन गरिएको छ । 
कृषि ज्ञान केन्द्र बाजुरा र लिर्वड नामक सस्थाले दक्ष प्राविधिक ल्याएर किसानको खेतबारीमै आलुका बिभिन्न जातहरु लगाउने विधि सिकाएको कृषि ज्ञान केन्द्र बाजुराका प्राबिधीक हेमराज उपाध्यायले बताए । आलु धेरै फले पनि बजारीकरण नहुने ढम्कनेको आलु २०७६ कात्तिकमा आलु महोत्सव नै गरेका थिए । महोत्सव पश्चात् ढम्कनेको आलुु पोखरा, काठमाडौं, नेपालगन्ज, धनगढी लगायतका सहरहरूमा जाने गरेको छ।
यसरी देशका ठूला सहरमा आलुको माग भएपछि स्थानीयहरू आलु खेतीमा हौसिएका छन् । जिल्लाका उत्तरी क्षेत्रका बुढिनन्दा नगरपालिका, स्वामीकार्तिक खापर, जगन्नाथ र हिमाली गाउँपालिका लगायत कर्णाली प्रदेशका हुम्ला मुगु र कालीकोट जिल्लाका केही स्थानीय तहको आवत–जावत गर्ने मुख्य बाटोमा पर्ने ढम्कने गाउँका स्थानीय आलुका परिकार बेचेर आम्दानीको श्रोतका रुपमा रहेको छ।
 

प्रतिक्रिया