अन्तर्राष्ट्रिय विकास संघको बैठक सुरु, नेपालका लागि सहुलियतपूर्ण सहायता महत्वपूर्ण रहेको प्रधानमन्त्रीको भनाइ

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल जस्ता अल्पविकसित देशका लागि सहुलियतपूर्ण वित्तीय सहायता महत्वपूर्ण रहेको बताएका छन । काठमाडौंमा  आज देखि शुरु भएको ‘आइडिए अन्तर्राष्ट्रिय विकास सङ्घ २१ पुनःपूर्ति अर्थात रिप्लेनिसमेण्ट’ बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले अतिरिक्त रोजगारका अवसरहरू सिर्जना गर्न, आर्थिक गतिविधि तिब्र रूपमा अगाडि बढाएर अतिकम विकसित मुलुकबाट स्तरोन्नती हुनका पनि सहुलियतपूर्ण सहायता आवश्यक रहेको बताएका हुन । प्रधानमन्त्री दाहालले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशहरूको विकासमा देखिएका चुनौतिलाई सम्बोधन गर्न आग्रह गरे । 


प्रधानमन्त्री दाहालले विकासमा चुनौति खेपिरहेका देशहरूलाई सहुलियतपूर्ण वित्तीय सहयोग गरेर विकासको गतिमा अघि बढाउन आग्रह गरे । नेपाल ठूला संकटहरको सामना गर्न कमजोर रहेको र जलवायु परिवर्तनको असरले सो जोखिमलाई अझ बढाएको जिकिर उनको छ । प्रधानमन्त्री दाहालले विश्वव्यापी उत्सर्जनमा नगण्य योगदान दिएपनि नेपाल जलवायु परिवर्तनको प्रतिकुल प्रभावबाट असमान रूपमा प्रभावित भएको बताए । उनले नेपालको प्रचुर जलविद्युत स्रोत, फस्टाउँदै गइरहेको, पर्यटन, कृषि व्यवसाय क्षेत्रहरू र युवा मेहनति जनसंख्या नेपालका लागि प्रमुख शक्तिहरू भएको दाबी गरे ।  उनले विनाशकारी भूकम्प, प्रकोप, विश्वव्यापी महामारी र विश्वव्यापी आर्थिक मन्दी जस्ता महत्वपूर्ण चुनौतिहरूको सामना नेपालले पनि गर्नुपरेको र यसले विकासमा बाधा पु¥याएको बताए । प्रधानमन्त्री दाहालले दिगो विकासका लक्ष्य , राष्ट्रिय रूपमा निर्धारण गरिएका योगदान र पूर्वाधार विकासमा वित्तीय स्रोत अपुग रहेकोपनि उल्लेख गरे । असार सात गतेसम्म काठमाडौंमा हुने बैठकमा विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोस्टसेन्वर्गलगायत उच्च पदाधिकारीसहित ६१ देशका करिब २०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ ।। 

प्रतिक्रिया