कुकुरलाई क्रुरतापूर्वक तड्पाउँदै हत्या गर्ने तीनजना पक्राउ

 कुकुरको बच्चालाई कुट्दै जिउँदै खाल्डोमा पुर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको देउमाई नगरपालिका-९ जितपुरका २१ वर्षिय दिक्षान्त मोरोहाङ लिम्बू, सोही स्थानका १७ वर्षिय संगम लिम्बू र १७ वर्षिय अशोक लिम्बू छन् ।

पशु कल्याण संघ काठमाडौंले दिएको उजुरीको आधारमा उनीहरूलाई जितपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, इलामले जनाएको छ । घटना केहिदिन अघिकै हो । सामाजिक सञ्जालमा भिडिओ बाहिरिएपछि पशु कल्याणले उजुरी दिएको थियो । ललितपुरका इरफान खानले पनि प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका थिए ।

सुगम मोराहाङ लिम्बू नामक फेसबुक एकाउन्टमा सो भिडियो पोस्ट भएको थियो । उनीहरूले कुकुरलाई त्यति क्रूरतापूर्वक किन हत्या गरे भन्ने खुलेको छैन ।

भिडिओ बनाउने हेतुले उनीहरूले हाँसिमजाक गर्दै कुकुरको बच्चालाई तड्पाउँदै जिउँदै खाल्डोमा पुरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

नेपालको प्रचलित कानुनअनुसार यस्तो घृणित कार्य गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रूपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ । मुलुकी अपराध संहिता २०७५ ले कुनै पनि पशुप्राणीलाई क्रूरतापूर्वक हत्या गर्नु ‘अपराध’ भनेको छ ।

प्रतिक्रिया