ट्यांकर मजदुरसँग सहमति जुटेसंगै पेट्रोलियम पदार्थ आपूर्ति सुरु

सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा ट्याङ्कर चालकले राखेको मागबारे अध्ययन गर्न समिति गठन गर्ने सहमतिसँगै आन्दोलन फिर्ता भएको हो । समितिले १५ दिनमा अध्ययन प्रतिवेदन पेस गर्नुपर्ने छ । आन्दोलनरत ट्याङ्कर चालकले सरकारलाई आफ्ना माग पुरा नभए फेरी आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।  सरकार र ट्याङ्कर चालकबिच सहमति भएसँगै थानकोट डिपोबाट निजी पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको आपूर्ति सुरु भएको छ । पेट्रोलियम पदार्थ आपूर्ति नहुँदा आइतबारदेखि नै काठमाडौंका निजी पेट्रोल पम्पले पेट्रोल वितरण बन्द गरेका थिए ।

आइतबारदेखि पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालकहरूले आन्दोलन गर्दा देशभर पेट्रोलियम वितरण अस्तव्यस्त बनेको थियो । आफ्ना ट्याङ्कर मालिकसँग राख्नुपर्ने माग उनीहरूले नेपाल आयल निगम र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमक्ष राख्दै आन्दोलनमा उत्रिएका थिए ।

नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले सरकार र निगमसमक्ष विभिन्न ७ बुँदे माग राखेका थिए ।  सम्पूर्ण ट्याङ्कर चालक/सहचालक मजदुरको श्रम ऐनअनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके अनुसारको तलबको व्यवस्था गरिनुपर्ने लगायत सङ्घको माग थियो ।

मन्त्रालय र संघबिच उनीहरूका माग सम्बोधन गर्ने गरी सहमति भएपछि चालकहरूले आन्दोलन फिर्ता लिएका छन् । 

प्रतिक्रिया