सुमना लक्षित ओलीको तुच्क्ष अभिव्यक्तिमा रास्वापाले संसदमा उठायो प्रश्न
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई लक्षित गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीप्रति आपत्ति जनाएको छ ।प्रतिनिधि सभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै रास्वपाका सांसद शिशिर खनाललेले मन्त्री सुमना श्रेष्ठलाई समानुपातिक सांसद र विदेशीसँग बिहे गरेर ‘घुम्दा घुम्दै मन्त्री बनेको’ भनेर ओलीले गरेको टिप्पणीप्रति आपत्ति जनाएको हो ।
सांसद खनालले महिला र वर्गीय उन्मुक्तिको राजनीति केका लागि थियो भनेर सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै प्रश्न समेत गरेका छन्।
‘कुनै एउटा यस्तो युग थियो जहाँ, काठमाडौंकी राजकुमारी तिब्बतका राजासँग विवाह गरिन्। जनकपुरकी राजकुमारी अयोध्याका राजासँग विवाह गरे र दुवै पुज्य भए। आज यस्तो जमाना आयो, विदेशमा उच्च शिक्षा हासिल गरेकी एउटा महिला नेतृ दस वर्षअघि देश फर्किइन्। भूकम्पको बेला औषधी लिएर गाउँ पुगिन्। नाकाबन्दीको बेला कारपुल भनेर सडकमा हिँडिरहेका मानिसलाई यात्राको सुविधा प्रदान गरिन्। उद्यममार्फत् रोजगारी सिर्जना गरिन्। राजनीतिमा आइन् र मन्त्री बनिन्। उनलाई भर्खर घुम्दाघुम्दै आएर मन्त्री बनिन् भनिन्छ,’ अध्यक्ष ओलीले दिएका अभिव्यक्तिप्रति लक्षित गर्दै सांसद खनालले भने, ‘कहिले लुगामा टिप्पणी गरिन्छ, कहिले समानुपातिक सांसद भनेर होच्याउने काम गरिन्छ। कहिले यही सभा हलमा, कहिले बन्द कोठाभित्र !’
उनले लामो समयदेखि नेपालको राजनीतिमा महिलाको उन्मुक्ति र वर्गीय उन्मुक्ति हामीले केका लागि गरेको भनेर ओलीलाई लक्षित गर्दै प्रश्न गरेका छन्। ‘के सबै महिलापुरुष बराबर हो भनेर होइन र ?,’ उनले भने। संविधानको प्रयोग गरेर देशलाई नेतृत्व गर्छु भन्दा टिप्पणी सहनु परेको उनको भनाइ छ।
अध्यक्ष ओलीले केही दिनअघि संसदीय दलको बैठकमा शिक्षा मन्त्रीसमेत रहेकी रास्वपा सांसद श्रेष्ठलाई लक्षित गरेर पानी पर्दा कहिलेकहिले माछा बर्सिएझैं शिक्षा मन्त्री बनेको भनेर टिप्पणी गरेका थिए।
त्यसअघि पनि ओलीले विदेशीसँग विवाह गरेर नेपाल घुम्न आउँदा मन्त्री बनेको भन्दै सुमना लक्षित नै टिप्पणी गरेका थिए। मन्त्री श्रेष्ठको कहिले लुगामा त कहिले समानुपातिक सांसद भनेर होच्याउने काम भएकोमा उनले आपत्ति जनाए ।
प्रतिक्रिया