कोसी प्रदेश सरकारविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
कोसी प्रदेश सरकारविरुद्धको रिट आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ रिट न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको छ । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको नियुक्तिमा प्रश्न उठाउँदै पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा यसअघि पनि पटकपटक पेसी तोकिए पनि सुनुवाइ हुन सकेको छैन । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री भएका केदार कार्कीले उक्त व्यवस्था सरकार बनाउने अन्तिम विकल्प भएको र आफूले यसअघि नै विश्वासको मत लिएकाले हटाउने निर्णय असंवैधानिक भएको जिकिर गरेका छन । एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले माओवादीलगायत सत्ता गठबन्धनका दलहरूको समर्थनमा ५२ जनाको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । उनले प्रदेशसभाबाट विश्वासको मत पनि लिइसकेका छन् । उनलाई पनि धारा १ सय ६८ को ५ नियुक्त गरिएको हो । कांग्रेस सांसद केदार कार्की २०८० असोज २७ गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। पछि माओवादीले पनि उनलाई विश्वासको मत दिएको थियो । तर गत फागुन २१ गते केन्द्रको सत्ता समीकरण परिवर्तन भएपछि उनी अल्पमतमा परेका थिए । २०८० चैत २६ गते एमाले र माओवादीका ५२ जना सदस्यले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएका थिए।
प्रतिक्रिया