आफ्नाविरुद्ध भएको षड्यन्त्रको कानुनी उपचार खोज्ने सिरोहियाको चेतावनी
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले राज्य शक्तिको चरम दुरुपयोगबीच आफ्नाविरुद्ध गरिएको प्रपञ्च समाप्त भएको दाबी गरेका छन । नौ दिन पछि रिहा भएका अध्यक्ष सिरोहियाले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नाविरुद्ध भएको षड्यन्त्रको कानुनी उपचार खोज्ने चेतावनी दिएका हुन । प्रहरी प्रशासनले आधारभूत अनुसन्धान पनि नगरी मलाई पक्राउ गरी ९ दिनसम्म हिरासतमा राखेकोमा त्यसमा संलग्न सबैलाई जबाफदेही बनाउन कानुनी उपचारको बाटो खोज्ने उनको भनाइ छ । नेपाली प्रेस जगत्ले आफूप्रति देखाएको ऐतिहासिक ऐक्यबद्धताका सामु आफू नतमस्तक रहेको बताउँदै उनले थप अनुसन्धानमा सहयोग गर्न सम्पूर्ण रूपमा तयार रहेको पनि बताएका छन । पत्रकारितालाई दुर्बल बनाउने र अरू सञ्चारमाध्यमलाई पनि तर्साउने दुष्प्रयासले यो हर्कत भएको पनि अध्यक्ष सिरोहियाको भनाइ छ । आफूलाई गैरनेपाली रहेको, आफूसँग दुई÷तीन थरी नागरिकता रहेको र नागरिकतामा हस्ताक्षर र मितिसमेत नरहेको जस्ता तथ्यहीन हल्ला फैलाउनेहरूलाई उनीहरूको दाबी प्रमाणित गर्न पनि अध्यक्ष सिरोहियाले सार्वजनिक चुनौती दिएका छन । नागरिकता कसुरको आधारहीन आरोपमा पक्राउ गरी विगत ९ दिनदेखि थुनामा राखिएकोमा उनी बुधबार हाजिरी जमानीमा रिहा भएका हुन । जिल्ला सरकारी वकिलको कार्यालयसमेतको सहमतिमा जिल्ला प्रहरी कार्यालय धनुषाले फौजदारी कार्यविधि संहिताको दफा अनुसार ‘थप अनुसन्धानका लागि थुनामा राखिरहन नपर्ने’ भन्दै रिहा गरेको हो ।
प्रतिक्रिया