असारको पहिलो हप्तादेखि भारतबाट रासायनिक मल आउने

सरकार–सरकारबीचको जीटूजी सम्झौतामार्फत भारतबाट रासायनिक मल असारको पहिलो हप्तादेखि नेपाल आउने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जीटूजीतर्फको २५ हजार मेट्रिक टन डायमिनयम फस्फेट डीएपी सोमबारदेखि स्रोत मुलुकबाट चलान भई असारको पहिलो हप्तादेखि नेपाल भित्रिने जनाएको हो । मन्त्रालयका अनुसार ५१ हजार मेट्रिक टन डीएपी र ३६ हजार मेट्रिक टन युरिया विशाखापट्टनमबाट नेपालतर्फ निर्यात हुने क्रममा छ । २० हजार मेट्रिक टन डीएपी र ७ हजार मेट्रिक टन युरिया भारतको कोलकाताबाट यही हप्ता नेपाल भित्रिन थाल्नेछ । कोलकाताबाट यसअघि २३ हजार मेट्रिक टन मल आइसकेको मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षमा ३ लाख ६३ हजार १ सय १७ मेट्रिक टन मल आयात भइसकेको छ ।  त्यसमध्ये ३ लाख ३३ हजार ७ सय २१ मेट्रिक टन मल बिक्री भइसकेको छ । चीनबाट समेत २५ हजार मेट्रिक टन डीएपी सिपमेन्ट भइसकेको र असारको दोस्रो हप्ताबाट नेपाल आउने कृषि मन्त्रालयले जनाएको छ ।सरकारले छुट्याएको अनुदानित रासायनिक मलको बजेटअनुसार कृषि सामग्री लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत मल खरिद गरी बिक्री गर्दै आएका छन् । सरकारले चालु आर्थिक वर्ष २०८०÷८१ का लागि किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब रुपैयाँ बजेट छुट्याएको छ ।। 

प्रतिक्रिया