अदालतको अनुमतिमा अनुसन्धान गरिनु प्रेस स्तन्त्रताको हनन होइन : रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नभएको बताएको छ । महामन्त्री डा. मुकुल ढकालले बुधबार एक विज्ञप्ति जारी गरी अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नभएको जिकिर गरेका छन् ।
प्रवक्ता डा. ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा धनुषा जिल्ला अदालतको अनुमति लिएर किर्ते नागरिकताको गम्भीर अभियोगबारे अनुसन्धान गर्न प्रहरीले सिरोहियालाई पक्राउ गरिएको भन्दै विधिको शासनलाई सरकारले ख्याल गरेको उल्लेख गरिएको छ ।
‘‘धनुषा जिल्ला अदालतको अनुमति लिएर किर्ते नागरिकताको गम्भीर अभियोगबारे अनुसन्धान गर्दा प्रहरीले हिजो व्यवसायी कैलाश सिरोहियालाई पक्राउ गरिएको तथ्य हाम्रो जानकारीमा आएको छ ।’’ प्रवक्ता ढा. ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘‘नागरिकको आत्मसम्मान र खुला लाकतान्त्रिक समाजका सम्पूर्ण हक–अधिकारको उपयोगमा आँच नपुग्ने गरी विधिको शासन अनुरुप कदम चाल्न नेपाल सरकार सक्षम छ भन्नेमा हामी विश्वस्त छौं ।’’
विज्ञप्तिमा थप भनिएको छ, ‘‘कानुन भन्दामाथि कोही हुँदैन । जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जीत हो । कोही–कोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता हो । यस्ता पूर्वाग्रहकै बलमा मुलुकको राजनीतिक प्रणाली विकृत हुँदै गएको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ ।’’
प्रतिक्रिया