संघीय संसद्को बजेट अर्थात बर्खे अधिवेशन आजदेखि प्रारम्भ हुँदै

काठमाडौ । संघीय संसद्को बजेट अर्थात बर्खे अधिवेशन आजदेखि प्रारम्भ हुँदै छ । हिउँदे अधिवेशन अन्त्य भएको तीन सातापछि बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो । बैठक दिउँसो २ बजेका लागि बोलाईएको छ । हिउँदे अधिवेशन वैशाख २ गते अन्त्य भएको थियो । त्यसको तीन सातापछि सरकारको सिफारिसमा राष्ट्रपतिले बजेट अधिवेशन आह्वान गरेका हुन ।  अघिल्लो अधिवेशनबाटै सुरु भएको सहकारीको रकम हिनामिना प्रकरणको विषयमा संसदीय छानबिन समिति बन्ने वा नबन्ने विषय निक्र्यौल भने भएको छैन । बुधबार सोही विषयमा सहमति खोज्न सभामुख देवराज घिमिरेले बोलाएको बैठक निस्कर्षबिहीन भएको थियो । अधिवेशनको प्रारम्भमा राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाइने छ । यस्तै सभामुख÷अध्यक्ष तथा उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि अध्यक्ष मण्डलको घोषणा हुने छ । दलीय आधारमा सदनलाई सम्बोधन पनि संसद्को सम्भावित कार्यसूचीमा उल्लेख छ । साथै लगानी सहजीकरणका लागि सरकारले विभिन्न आठ कानुन संशोधनका लागि ल्याएको अध्यादेश पनि बैठकमा पेस गर्ने राष्ट्रिय सभाको सम्भावित कार्यसूचीमा छ । संविधान सभा तथा संसद्का पूर्वसदस्य निधनको शोक प्रस्ताव पनि कार्यसूचीमा हुने छ । दुवै सदनमा विभिन्न चरणमा गरेर २५ विधेयक छन् । जसमध्ये प्रतिनिधि सभामा विभिन्न चरणमा २३ विधेयक छन् । त्यस्तै माथिल्लो सभामा दुई विधेयक विचाराधीन छन् । अधिवेशनमा सरकारका तर्फबाट वार्षिक नीति तथा कार्यक्रम पेस हुने छ । साथै जेठ १५ गते बजेट पेस हुने छ । जनता समाजवादी पार्टी जसपा नेपालबाट विभाजित जनता समाजवादी पार्टीलाई पनि सचिवालयले सत्तापक्षकै आशनको व्यवस्था गरेको छ । यस्तै इलाम उपनिर्वाचनबाट निर्वाचित एमालेका सुहाङ नेम्वाङ, जनता समाजवादीकी हसिना खान र कांग्रेसका टेकबहादुर गुरुङ पहिलो पटक बैठकमा सहभागी हुँदै छन् ।

प्रतिक्रिया