७ जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि अभियान शुरु

सरकारले आजदेखि हात्तीपाइलेविरुद्धको औषधि खुवाउँदै छ ।  हात्तीपाइले रोगको जोखिम रहेका झापा,महोत्तरी, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि सबैलाई खुवाउने गरी आम औषधि सेवन अभियान सञ्चालन गर्न लागिएको हो । यसअघि ती सात जिल्लामा आम औषधि सेवन अभियान सञ्चालन गरिए पनि सफल नभएपछि पुनः अभियान सञ्चालन गर्न थालेको हो । अभियान दुई हप्तासम्म सञ्चालन हुनेछ । अभियानमा यसपटक करिब ६ हजार स्वास्थ्यकर्मी र पाँच हजार आठ सय महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने छन् । सात जिल्लाका १०१ स्थानीय तहका ५० लाख ७८ हजार जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन थालिएको हो । दुई वर्षभन्दा बढी उमेरका सबैलाई औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्ति, पहिले आम औषधि सेवन गर्दा गम्भीर समस्या देखिएका व्यक्ति तथा सिकिस्त बिरामीले सो औषधि खान नहुने बताइएको छ ।।

प्रतिक्रिया