राष्ट्रिय संयुक्त संघर्ष समितिको चेतावनीः १५ दिन भित्र माग पूरा नभए आन्दोलन गर्छौं

राष्ट्रिय संयुक्त संघर्ष समिति नेपालले १५ दिन भित्र आफ्ना मागहरु पूरा नभए काठमाडौं लगायत देशव्यापी रुपमा सामुहिक सत्याग्रह सहितको आन्दोलन गर्ने चेतावनी दिएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी संघर्ष समितिले सरकारले आफूहरुका माग वैशाख २३ गतेसम्म पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिएको हो । पत्रकार सम्मेलनमासंघर्ष समिति नेपालका संयोजक चन्द्रबहादुर थापाले राज्य प्रशासनबाटै विभिन्न नाममा पेशा– व्यावसायी तथा मजदुरहरु माथि शोषण, अन्याय र अत्याचार भइरहेको बताए । उनले राष्ट्र, अर्थतन्त्र, धर्म, संस्कृती र जनताको जीवन रक्षाका निमित्त ‘स्वदेशमै काम गरेर खान दे’ भन्ने मुल नारासहित आन्दोलनको घोषणा गर्नुपरेको बताए ।  
नागरिकहरू गर वा मर को स्थितिमा रहेको भन्दै आफूहरुका मागहरू २०८१ वैशाख २३ गतेसम्म पूरा नभए काठमाडौं लगायत देशव्यापी रुपमा सामुहिक सत्याग्रह सहितको आन्दोलन गर्ने उनको भनाइ छ । राज्यले तोकेको मापदण्ड भित्र रहेर नेपाली नागरिकले नेपाल भित्र गरेको कुनैपनि क्षेत्रको लगानीलाई राष्ट्रिय पुँजीको रुपमा घोषणा गरी तिनको रक्षा प्रवद्र्धन र विकासका लागि राज्यको तर्फबाट आवश्यक कानूनी व्यवस्था गर्न माग समितिको छ ।  बैंकिङ कर्जा व्याजदर अधिकतम ७ प्रतिशत हुनुपर्ने र कालोसूचि वा लिलामी प्रकृयामा गएकोलाई तत्कालै बन्द गरी न्युनतम २ वर्षको अवधि थप गर्नुपर्ने, जग्गा जमिन लिलामी गरेको भए पुनर्मूल्याङ्कनको व्यवस्था गर्नुपर्ने माग पनि समितिले अघि सारेको छ । खानी तथा कसर उद्योगहरुलाई तत्काल नवीकरण गरी उत्पादित सामाग्रीहरूको बजारीकरण र निर्यातको लागि आवश्यक व्यवस्था गर्नपर्ने, जातिय विभेद पूर्णतः अन्त्य गरी समतामुलक समाजको निर्माण गर्नुपर्ने, महंगी, भ्रष्टाचार, कालोबजारी नियन्त्रण गर्न सुशासनको प्रत्याभुति हुनेगरी राज्यले आवश्यक पहल गर्नुपर्ने र राजनीतिक, आर्थिक, सांस्कृतिक समस्याको निकास स्थायी सरकार भयकोले संविधान संशोधन गरि प्रत्यक्ष कार्यकारी प्रमुख प्रणाली लागू गर्नुपर्ने मागपनि समितिको छ ।
 

प्रतिक्रिया