साउनदेखि स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नराखिने

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को साउनदेखि स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नराख्ने भएको छ । स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतबाट स्थानीय तहमा भ्रष्टाचार मौलाउँदै गएको, बेरुजु बढेको, विकास निर्माणका काममा ढिलासुस्ती भएको, सेवा प्रवाह र सुशासन कमजोर बनेकोलगायतका अनियमितताका समस्या बढ्दै गएको गुनासो आउन थालेपछि सरकारले निमित्त प्रमुख प्रशासकीय अधिकृत पठाउने कार्यलाई निरुत्साहित गर्न लागेको हो ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी आर्थिक वर्षदेखि कुनै पनि स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नराख्ने नीतिलाई उच्च प्राथमिकतासाथ कार्यान्वयन गर्ने जनाएको हो । आगामी आर्थिक वर्षदेखि स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नराख्ने गरी लोक सेवा आयोगबाट सिफारिस भई आएका शाखा अधिकृत र उपसचिवलाई स्थानीय तहमा पठाइने मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार अहिले २०७ स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतले स्थानीय तह सञ्चालन गर्दै आएका छन् । मन्त्रालयले यसै साता लोक सेवा आयोगबाट सिफारिस गरिएका ३० जना नयाँ शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर स्थानीय तहमा पठाइसकेको छ । 

प्रतिक्रिया